
विराटनगर । सीमा प्रवेशको आधिकारिक अभिलेख नभएको भारतीय नम्बर प्लेटको हुन्डाई भेन्यु कारले विराटनगर भन्सार कार्यालयबाट तीनपटक अस्थायी पैठारी अनुमति पाएको खुलेको छ ।
उक्त गाडी सशस्त्रले प्रहरीले नियन्त्रणमा लिएर विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । यसैबीच, आवश्यक कागजातबिनाको करिब २० लाख रुपैयाँ मूल्यको अर्को भारतीय स्कार्पियो गाडी मोरङ प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । दुवै घटनाले भारतीय सवारीसाधनको सीमा प्रवेश, भन्सार अनुमति र नियमन प्रक्रियामाथि प्रश्न उठाएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी मोरङले गत असोज ३१ गते नियन्त्रणमा लिएर विराटनगर भन्सार कार्यालयमा बुझाएको बीआर ३८ एपी ८२८६ नम्बरको हुन्डाई भेन्यु कार नेपाल र भारत दुवैतर्फको सीमा प्रवेश अभिलेखमा फेला नपरेको हो । तर, उक्त कारले विराटनगर भन्सारबाट तीन पटकसम्म अस्थायी पैठारी अनुमति लिएको पत्ता लागेको छ ।
कारको सीमा प्रवेश अभिलेख नै नभेटिएको अवस्थामा भन्सारले कुन आधारमा पटकपटक अनुमति जारी गर्यो भन्ने प्रश्न उठेको छ । विराटनगर महानगरपालिका–१४ का सुरेशकुमार यादव र सवनम खातुनले प्रयोग गर्दै आएको उक्त कारको स्वामित्व मोहरजीत अलीको नाममा रहेको देखिएको छ । सशस्त्र प्रहरीका अनुसार कार कपडालगायत तस्करीका सामान ओसारपसारमा प्रयोग हुने गरेको थियो ।
कार नियन्त्रणमा लिएपछि गरिएको विवरण जाँचमा नेपालतर्फको सीमा सुरक्षा अभिलेखमा प्रवेश गरेको रेकर्ड भेटिएन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अभिलेखमा पनि गाडी सीमा पार गरेको विवरण फेला नपरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार नेपाल प्रवेश गर्ने सवारीसाधन र त्यसमा सवार व्यक्तिको विवरण निर्धारित सुरक्षा प्रक्रियाअनुसार अभिलेखमा समावेश भएपछि मात्रै प्रवेश अनुमति दिइन्छ । तर, उक्त कारले दुवैतर्फ आवश्यक सुरक्षा प्रक्रिया पूरा गरेको प्रमाण फेला नपरेको उनले बताए ।
यस विषयमा भारतीय सीमा सुरक्षा बलको ५६औँ बटालियनले समेत सशस्त्र प्रहरीलाई पत्र पठाएको छ । पत्रमा कार नियन्त्रणमा लिइएको दिन अर्थात् १७ अक्टोबर २०२६ मा उक्त गाडी जोगबनीस्थित बोर्डर चेक पोस्ट (बीसीपी)मा दर्ता नभएको उल्लेख छ ।
यति मात्र नभएर सशस्त्र प्रहरीले कार नियन्त्रणमा लिएपछि चाबी लिएर प्रयोगकर्ता फरार भएको बताइएको छ । प्रहरीले करिब १० दिनसम्म नियन्त्रणमा राखेको गाडीको लक फुटाएर भन्सार कार्यालयमा बुझाएको थियो । त्यस अवधिमा गाडीका आवश्यक कागजात तयार पारिएको विषयसमेत सार्वजनिक भएको छ ।
विराटनगर भन्सारका कर्मचारीसँगको मिलेमतोमा कागजात बनाइएको दाबी गरिए पनि त्यसको आधिकारिक पुष्टि भएको छैन । कागजात कसले, कहिले र कुन आधारमा तयार पारेको हो भन्ने विषयमा भन्सार कार्यालयको सीसीटीभी दृश्य र अभिलेखले थप तथ्य खुलाउन सक्ने देखिन्छ ।
उक्त कारका लागि विराटनगर महानगरपालिकाबाट पूर्वाधार उपभोग कर तिरेको तथा प्रदेश सरकारअन्तर्गतको यातायात व्यवस्था कार्यालय विराटनगरबाट रुट परमिट र पटके अनुमति लिएको कागजातसमेत रहेको बताइएको छ । तर, यी कागजातले मात्रै सवारीसाधन वैधानिक रूपमा सीमा पार गरेको पुष्टि गर्दैनन् ।
यसैबीच, मोरङ प्रहरीले विराटनगर महानगरपालिका–४ नहरचोकस्थित सडक किनारबाट करिब २० लाख रुपैयाँ मूल्यको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेका बेला रोक्न खोज्दा चालकले गाडी छाडेर फरार भएपछि प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।
महिन्द्रा कम्पनीको सेतो रङको स्कार्पियोको नम्बर बीआर ११ पीए ४२५४ रहेको छ । गाडीको इन्जिन नम्बर एसजेजी४सी१२२३४ र चेसिस नम्बर एमए१टीए२एसजेएक्सजी२सी२७९०१ रहेको प्रहरीले जनाएको छ ।
गाडीका आवश्यक कागजात फेला नपरेपछि भन्सार छली गरी नेपाल भित्राइएको हुन सक्ने आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले गाडीलाई थप अनुसन्धान तथा कारबाहीका लागि विराटनगर भन्सार कार्यालय पठाइएको बताए । गाडी छाडेर फरार भएका चालकको खोजी भइरहेको जानकारी उनले दिए । यद्यपि, स्कार्पियो चोरी पैठारीबाट नेपाल भित्रिएको हो वा अन्य कारणले कागजातविहीन अवस्थामा फेला परेको हो भन्ने अनुसन्धानबाट खुल्न बाँकी छ ।
नेपालमा भारतीय निजी सवारीसाधन एक आर्थिक वर्षमा बढीमा ३० दिनसम्म बस्न पाउने व्यवस्था छ । त्यसका लागि भन्सारबाट अस्थायी पैठारी अनुमति लिनुका साथै स्थानीय तहमा पूर्वाधार उपभोग कर र प्रदेशअन्तर्गत रुट परमिट तथा पटके अनुमतिसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्छ । सवारीको ब्लुबुक, चालक अनुमतिपत्र (लाइसेन्स) र परिचयपत्रलगायत कागजात आवश्यक पर्छन् । तर, यी प्रक्रिया पूरा भएको देखाउने कागजातसँगै सवारीको वास्तविक सीमा प्रवेश र भन्सार अभिलेखसमेत रुजु हुनुपर्ने हुन्छ ।
यातायात व्यवस्था कार्यालय विराटनगरको विवरणअनुसार चालु आर्थिक वर्षको साउनमा १६ मोटरसाइकल र एक हजार ३३२ कार तथा जिपले पटके अनुमति लिएका थिए । भदौमा १५ मोटरसाइकल र एक हजार १३३ कार तथा जिप तथा असोजमा १४ मोटरसाइकल र एक हजार १६३ कार तथा जिपले यस्तो अनुमति लिएको विवरण छ । तथ्यांक भारतीय नम्बर प्लेटका सवारीसाधनसँग सम्बन्धित हो ।
सीमा प्रवेशको अभिलेखमा नदेखिएको हुन्डाई भेन्युले तीन पटकसम्म भन्सार अनुमति पाएको घटनामा अनुमति जारी गर्दाको कागजात, मिति, सवारीको भौतिक उपस्थिति र अभिलेख प्रमाणीकरणको प्रक्रिया छानबिन गर्नुपर्ने सुरक्षा अधिकारीहरु बताउँछन् । त्यसैगरी, स्कार्पियोको सीमा प्रवेश, स्वामित्व, भन्सार अभिलेख र फरार चालकको पहिचान खुल्न बाँकी छ ।
दुवै घटनामा कुनै कर्मचारी वा व्यक्तिको संलग्नता आधिकारिक रूपमा पुष्टि भएको छैन । तर, एउटा गाडीको सीमा प्रवेश अभिलेख नभेटिँदा पनि पटकपटक भन्सार अनुमति जारी हुनु र अर्को गाडी आवश्यक कागजातबिनै सडकमा फेला पर्नुले सीमा सुरक्षा, भन्सार र यातायात नियमन निकायबीचको समन्वय तथा कागजात प्रमाणीकरण प्रक्रियामाथि प्रश्न उठाएको छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी डम्बरबहादुर बस्नेतले रानीस्थित भन्सारको यात्रु शाखामा लिएर आएपछि मात्रै भारतीय गाडीलाई पैठारी अनुमति दिने गरिएको बताए । ‘अनुमति दिनुअघि आवश्यक कागजात मिल्नुपर्छ । सबै कुरा अध्ययन गरेर आवश्यक अनुमति दिइन्छ । प्रक्रिया पूरा नगरिकन भारतीय गाडीलाई अनुमति दिन मिल्दैन,’ उनले भने । बस्नेतले सीमा प्रवेशको आधिकारिक अभिलेख नभएको भारतीय गाडीले अस्थायी पैठारी अनुमति पाएको विषयमा भने आफूलाई जानकारी नभएको बताए ।

























