
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा विस्तार हुने भएपछि मौसम प्रतिकूल बन्ने र भारी वर्षाका कारण विपद्को जोखिम बढ्ने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट जारी गर्दै सम्भावित जोखिमबाट जोगिन आग्रह गरेको छ । भारतको आन्ध्र प्रदेश र यानम आसपासको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरिरहेको चक्रवात कमजोर हुँदै उत्तरतर्फ अघि बढ्ने क्रममा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणाली कात्तिक १३ गतेसम्म नेपाल नजिकका भारतीय राज्य उत्तर प्रदेश र बिहार आसपास आइपुग्ने अनुमान छ । कमजोर भइसकेको अवस्थामा नेपाल नजिक पुगे पनि यसले देशका विभिन्न भागमा वर्षा गराउने देखिएको छ ।
महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा मौसम बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ । बिहीबारदेखि शनिबारसम्म भने वर्षाको प्रभाव थप बढ्ने र यसको दायरा देशका विभिन्न क्षेत्रमा फैलिने पूर्वानुमान गरिएको छ ।
त्यस अवधिमा सातै प्रदेशका हिमाली भू–भागमा व्यापक रूपमा मध्यम वर्षा हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा पनि वर्षाको प्रभाव देखिनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ ।
पश्चिमी वायुको समेत प्रभाव रहने भएकाले कर्णाली र सुदूरपश्चिममा मेघगर्जन, चट्याङ र असिनापानीको जोखिमसमेत रहेको छ । लगातारको वर्षाले जनजीवन प्रभावित हुनुका साथै पहाडी क्षेत्रमा पहिरो र भूक्षय एवं नदी तथा खोलामा पानीको सतह बढ्ने जोखिम रहन सक्छ ।
सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै महाशाखाले आइतबार बिहानसम्मका लागि चेतावनी नक्सा जारी गरेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा रातो रङको रेड अलर्ट जारी गरिएको छ । यी क्षेत्रमा सम्भावित विपद् सामना गर्न आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
कोशीका पहाडी क्षेत्र, मधेश, बागमती र गण्डकीका पहाडी तथा तराई भू–भाग, लुम्बिनीका पहाडी र पूर्वी तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा सुन्तला रङको अरेन्ज अलर्ट जारी गरिएको छ । अन्य भू–भागमा पहेँलो संकेतसहित सचेत रहन भनिएको छ ।
मौसम प्रतिकूल रहने अवधिमा सर्वसाधारणलाई आधिकारिक मौसम पूर्वानुमान र चेतावनी नियमित रूपमा हेर्न, जोखिमयुक्त स्थानमा सतर्क रहन तथा सम्भावित विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गर्न महाशाखाले आग्रह गरेको छ ।

























