तार चोरीको लाञ्छनादेखि हत्यासम्म, घरमै बोलाएर लिइयो व्यापारीको ज्यान

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार १५:०६

विराटनगर । चोरीको आरोपले जन्माएको रिसईबीले अन्ततः एक वृद्ध व्यापारीको ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विराटनगर महानगरपालिका–६ मा बस्दै आएका ६९ वर्षीय लालजीप्रसाद गुप्तालाई आफ्नै घरमा बोलाएर फलामको पाइपले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले मुख्य अभियुक्तसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम र शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा दुई जना नाबालकलाई सार्वजनिक गरेको हो । आलम महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालन गर्दै आएका थिए ।

प्रहरीका अनुसार विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार चोरी गरेको भन्दै गुप्ताले आलमबारे बजारमा कुरा फैलाएका थिए । आफूलाई चोरको आरोप लगाएर बदनाम गरेको भन्दै आलम गुप्तासँग रुष्ट बनेका थिए । यही विवादले दुई जनाबीच शत्रुता बढाएको र त्यसैको बदला लिन आलमले गुप्ताको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानअनुसार कात्तिक ६ गते शुक्रबार दिउँसो आलमले गुप्तालाई आफ्नो घरमा बोलाएका थिए । घरमा पुगेपछि दुई जनाबीच विवाद भएको र त्यसक्रममा आलमले फलामको जीआई पाइपले गुप्ताको टाउकोमा प्रहार गरेको प्रहरीको भनाइ छ । प्रहारबाट गुप्ताको मृत्यु भएपछि घटनालाई लुकाउन आलमले दुई नाबालकको सहयोग लिएको हालसम्मको अनुसन्धानबाट खुलेको छ ।

हत्यापछि शवलाई कार्पेटमा पोको पारेर ओसारिएको र सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलिया खोलाको किनारमा फालिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भनिएका नाबालकमध्ये एक भारतीय र अर्का नेपाली नागरिक हुन् । उनीहरू क्रमशः १३ र १६ वर्षका छन् ।

कात्तिक ८ गते आइतबार बिहान स्थानीयले खोलाको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान अघि बढाउँदा मृतक विराटनगरमा लामो समयदेखि ब्याट्री व्यवसाय गर्दै आएका गुप्ता भएको खुलेको थियो । भारतको वाराणसी (वनारस) स्थायी घर भएका उनी विगत चार दशकदेखि विराटनगरमा बस्दै आएका थिए । उनले धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए ।

शव भेटिएपछि मोरङ र सुनसरी प्रहरीको संयुक्त टोलीले अनुसन्धान थालेको थियो । तालिमप्राप्त कुकुरको सहयोगमा प्रमाण संकलन गर्दै अघि बढेको प्रहरीले मंगलबार साँझ मुख्य अभियुक्त आलमलाई पक्राउ गरेको हो ।

प्रहरीले आलमको साथबाट हत्यामा प्रयोग भएको भनिएको जीआई पाइप, मृतकको रेडमी मोबाइल र शव बेर्न प्रयोग गरिएको कार्पेट बरामद गरेको छ । बरामद सामग्री तथा अन्य प्राविधिक र भौतिक प्रमाणका आधारमा घटनाको थप अनुसन्धान भइरहेको सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्ले बताए ।

उनका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । चोरीको आरोपबाट सुरु भएको विवादले योजनाबद्ध रूपमा हत्या र शव लुकाउने घटनाको रूप लिएको जानकारी मल्लले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×