झापामा हवाई फायर गरेर दुई जना पक्राउ

Share this
853shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार १५:२७

झापा । झापाको झापा गाउँपालिकाबाट प्रहरीले हवाई फायर गरेर बुधबार दुई जनालाई पक्राउ गरेको छ । पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेर पक्राउ गरिएकाको साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) १५० ग्रामभन्दा बढी बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मुन्नाकुमार अधिकारीका अनुसार दिउँसो साढे १२ बजेतिर झापा गाउँपालिका–१ सालमारामा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोड र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बीआर ३७ एए ५३८० नम्बरको गाडी र मे ७ प ३ नम्बरको मोटरसाइकलमा सवार झापा गाउँपालिका–१ सालमाराका ३६ वर्षीय नसिम अत्तर मियाँ र ३० वर्षीय सलमान मियाँलाई नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा भाग्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरिएको इन्स्पेक्टर अधिकारीले बताए । हवाई फायर गरेर पक्राउ गरिएपछि खानतलासी गर्दा सेतो प्लास्टिकमा पोका पारेर लुकाइछिपाइ ल्याइएको १५० ग्राम १४० मिलिग्राम खैरो हेरोइन बरामद भएको उनको भनाइ छ ।

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×