
काठमाडौं । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश हरिसिंह धामीको इजलासले बुधबार दुवै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत खेलमा मिलेमतो तथा अनियमितता र मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगीको आरोपमा उनीहरूसहित चार जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि दायर मुद्दामा एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी १५ लाख र लेखा अधिकृत सञ्जीव पाण्डे १२ लाख रुपैयाँ धरौटीमा यसअघि नै रिहा भइसकेका छन् ।
आरोपअनुसार, सन् २०२४ मार्च २१ मा नेपाल र बहराइनबीच दशरथ रंगशालामा हुनुपर्ने विश्वकप छनोट खेल मैदानको अवस्था देखाउँदै बहराइनमा सारिएको थियो । साथै, टिकट बिक्रीबापत बहराइनले एन्फालाई दिनुपर्ने २० हजार अमेरिकी डलर (करिब २६ लाख ४७ हजार रुपैयाँ) आधिकारिक बैंक खातामा दाखिला नगरी अपचलन गरिएको अभियोग छ ।
त्यसैगरी, एसियाली फुटबल महासंघ (एएफसी) को ‘एक्स्ट्रा टाइम प्रोजेक्ट’ अन्तर्गत ५० हजार अमेरिकी डलर (करिब ६६ लाख ५३ हजार ९०० रुपैयाँ) बराबरका खेलकुद सामग्री खरिद गर्दा एउटै स्वामित्वका तीन कम्पनीमार्फत प्रतिस्पर्धा देखाई स्वीकृत लागत अनुमानभन्दा बढी मूल्यमा खरिद गरिएको आरोप पनि छ । सरकारी वकिलले प्रतिवादीहरूबाट कुल ९३ लाख ९ सय रुपैयाँ बिगो तथा क्षतिपूर्ति भराउन माग गरेको छ ।

























