
काठमाडौं । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले अमेरिकामा घुससम्बन्धी विषयलाई लिएर प्रकाशित समाचारमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाएका छन् । उनले समाचारमा उल्लेखित व्यक्ति र घटनाक्रमसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै शर्माले ‘दियो पोस्ट’ लगायतका सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित सामग्रीले आफूलाई आश्चर्यचकित बनाएको बताएका छन् । प्रधान न्यायाधीश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पोखरेलको नाम जोडेर अमेरिकामा घुससम्बन्धी विषयमा समाचार प्रकाशित भएका थिए । उक्त समाचारमा उल्लेख गरिएका व्यक्ति तथा प्रसंगसँग आफ्नो कुनै संलग्नता नरहेको उनको दाबी छ ।
शर्माले सम्बन्धित व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष चिनजान र सम्पर्क नरहेको तथा आफूले उनीहरूलाई कहिल्यै नभेटेको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘आधारहीन, झुटा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
उनले समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाका घटनाक्रम हुँदासमेत आफू प्रधान न्यायाधीश नियुक्त भइनसकेको अवस्था रहेको बताएका छन् । शर्माले आफ्नो नाम जोडेर प्रकाशित सामग्रीका कारण भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।


























