‘अर्नब’ चक्रवातको जोखिम : कोशीमा उच्च सतर्कता

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार ११:४८

विराटनगर । बंगालको खाडीमा विकसित शक्तिशाली ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै कोशी प्रदेशमा उच्च सतर्कता अपनाइएको छ ।

भारी वर्षा, बाढी, पहिरो, हावाहुरी तथा उच्च हिमाली क्षेत्रमा हिमपात र हिमआँधीको जोखिमलाई मध्यनजर गरी प्रदेशका १४ वटै जिल्लामा प्रहरी टोली तयारी अवस्थामा राखिएको हो । सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल प्रहरीसँगै अन्य सुरक्षा निकाय पनि तयारी अवस्थामा छन् ।

कोशी प्रदेशका निमित्त प्रहरी प्रमुख एसएसपी शिवकुमार श्रेष्ठका अनुसार सम्भावित विपदबाट हुन सक्ने क्षति न्यूनीकरण, उद्धार तथा राहतका लागि योजना बनाएर प्रहरी टोली विभिन्न स्थानमा परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिसँग समन्वय गरी आवश्यक जनशक्ति तथा स्रोतसाधनलाई तयारी अवस्थामा राखिएको उनले बताए ।

‘सबै जिल्लामा प्रहरी टोली तैनाथ छन् । बाढी, पहिरो, हावाहुरीलगायतका विपद् आइपरे तत्काल उद्धार तथा प्रतिकार्यमा खटिने गरी योजना बनाएर टोली परिचालन गरिएको छ,’ श्रेष्ठले भने, ‘सम्बन्धित जिल्ला सुरक्षा समितिसहित सबै पक्षसँग समन्वय भइरहेको छ । अहिलेसम्म कुनै समस्या आएको छैन । सामान्य रूपमा ठाउँठाउँमा पानी परिरहेको छ ।’

उनका अनुसार मौसमको अवस्थालाई निरन्तर निगरानीमा राखिएको छ । कुनै स्थानमा विपद् भएको सूचना प्राप्त हुनासाथ आवश्यकताअनुसार प्रहरी टोली तत्काल परिचालन गरिनेछ । सर्वसाधारणलाई पनि जोखिम निम्तिएमा वा कुनै समस्या आइपरेमा तत्काल नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई खबर गर्न आग्रह गरिएको श्रेष्ठले बताए ।

सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले जोखिमयुक्त बस्ती, नदी तथा खोलानाला आसपासका क्षेत्र र पहिरो जान सक्ने स्थानमा निगरानी बढाएका छन् । नदीमा पानीको सतह बढ्ने, खोलामा आकस्मिक बाढी आउने, सडक अवरुद्ध हुने तथा बस्तीमा पहिरो खस्न सक्ने अवस्थालाई ध्यानमा राखेर उद्धार टोली परिचालन गर्ने तयारी गरिएको जानकारी श्रेष्ठले दिए ।

उनका अनुसार विपद् आइपरे जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, घाइतेको उद्धार गरी अस्पताल पुर्‍याउने, प्रभावित क्षेत्रमा आवतजावत नियन्त्रण गर्ने र आवश्यक परे राहत वितरणमा सहयोग गर्ने काममा सुरक्षा निकाय परिचालित हुनेछन् । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गर्ने तथा उद्धारका क्रममा आवश्यक जनशक्ति र स्रोत साधन परिचालन गर्ने तयारीसमेत भइरहेको जानकारी एसएसपी श्रेष्ठले दिए ।

जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशका उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना औंल्याउँदै ‘रेड अलर्ट’ जारी गरेको छ । चक्रवातको प्रभावले वर्षा र हिमपातको मात्रा बढ्न सक्ने भएकाले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने मौसमविद्हरुले बताए ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले जारी गर्ने मौसमसम्बन्धी सूचना र सुरक्षा निर्देशन पालना गर्न, नदी तथा खोलाको बहाव बढेका बेला किनारमा नजान र जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । विपद्को संकेत देखिएमा सुरक्षित स्थानमा सर्नुपर्ने र तत्काल सुरक्षा निकायलाई जानकारी गराउनुपर्ने श्रेष्ठको भनाइ छ ।

मौसमको अवस्था प्रतिकूल हुन सक्ने भएकाले कोशी प्रदेशमा सुरक्षा निकायले समन्वय र निगरानीलाई निरन्तरता दिएको उनले बताए । सम्भावित विपद्को पूर्वतयारी, समयमै सूचना प्रवाह र शीघ्र उद्धारलाई प्रभावकारी बनाउँदै जनधनको क्षति न्यूनीकरण गर्नतर्फ प्रहरी केन्द्रित रहेको जानकारी एसएसपी श्रेष्ठले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×