अर्कैको शवलाई छोरा ठानेर अन्त्येष्टि, मृतक भनिएका व्यक्ति घर फर्किए

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार १३:१९

विराटनगर । आफन्तको मृत्यु भएको ठानेर अन्त्येष्टि गरिसकेको परिवारका लागि त्यो क्षण कल्पनाभन्दा बाहिरको थियो, जब मृतक भनिएका व्यक्ति नै घरको ढोकामा आइपुगे ।

मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका पदमबहादुर राई जीवितै घर फर्किएपछि परिवारमा खुसीसँगै एउटा गम्भीर प्रश्न उब्जिएको छ– अन्त्येष्टि गरिएको शव आखिर कसको थियो ? ३६ वर्षीय पदमबहादुर गत माघदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । मानसिक स्वास्थ्य अवस्था कमजोर रहेका उनी बेलाबेला कसैलाई जानकारी नदिई घर छाडेर हिँड्ने गर्थे । यसअघि हराउँदा कहिले आफैँ फर्किने त कहिले परिवारले खोजेर ल्याउने गरेको थियो । तर, माघमा घर छाडेपछि उनी लामो समयसम्म सम्पर्कविहीन रहे ।

यहीबीच गत जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भए । उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएका उनको भोलिपल्ट मृत्यु भयो ।

मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले शव कोशी अस्पतालको शवगृहमा राखेर आफन्तको खोजी गर्न सार्वजनिक सूचना जारी गरेको थियो । सूचना पाएपछि अस्पताल पुगेकी पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरिन् । त्यसपछि प्रहरीले शव परिवारलाई बुझायो ।

परिवारले चिसाङ खोलामा लगेर अन्त्येष्टि गर्‍यो । छोरा गुमाएको शोकमा यसपालिको दसैँमा परिवारले टीकासमेत लगाएन । तर, दसैँको पूर्णिमाका दिन पदमबहादुर अचानक घर फर्किएपछि परिवार स्तब्ध बन्यो । जसलाई मृत ठानेर अन्तिम संस्कार गरिएको थियो, उनी त जीवितै थिए ।

पदमबहादुरले आफू भारतमा रहेको दाबी गरेका छन् । उनी माघदेखि कहाँ बसे, कसरी त्यहाँ पुगे र यति लामो समयपछि घर फर्किनुको कारण के हो भन्ने विषय भने स्पष्ट भइसकेको छैन ।

एउटा अन्त्येष्टि, अनेक प्रश्न

पदमबहादुर जीवितै भेटिएपछि परिवारको खुसीसँगै दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचानसम्बन्धी प्रश्न गम्भीर बनेको छ । परिवारले अन्त्येष्टि गरिसकेको शव कसको थियो भन्ने पत्ता लगाउनुपर्ने अवस्था आएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्त अहिलेसम्म सम्पर्कमा नआएको अवस्थामा उनको वास्तविक पहिचान खुलाउन प्रहरीले पुनः अनुसन्धान गर्नुपर्ने भएको छ ।

स्थानीयका अनुसार परिवारमा खुसी छाए पनि अर्कै व्यक्तिको शव अन्त्येष्टि गरिएको हुन सक्ने विषयले त्रास बढाएको छ । मृत्यु संस्कार पूरा गरिसकेको छोरा फर्किनु परिवारका लागि असाधारण घटना भएको स्थानीय बताउँछन् ।

प्रहरीका अनुसार दुर्घटनापछि परिवारले बीमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको छ । पदमबहादुर जीवितै भेटिएपछि उक्त रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइने मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले सरकारी अभिलेखमा बेवारिसे शवका रूपमा विवरण सच्याउने र दुर्घटनामा मृत्यु भएका वास्तविक व्यक्तिको पहिचानका लागि पुनः अनुसन्धान गरिने जानकारी दिए । घटनाका बारेमा थप बुझ्न इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साह नेतृत्वको टोली पदमबहादुरको घर पुगेको थियो । एसपी कटुवालका अनुसार परिवारलाई कोशी अस्पताल बोलाइएको छ । शव सनाखतका क्रममा तयार भएका कागजात फिर्ता लिने तथा मृतकको पहिचान खुलाउने प्रक्रिया अघि बढाइनेछ ।

पदमबहादुरकी आमाले शव आफ्नै छोराजस्तो देखिएकाले सनाखत गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक बुझाइ छ । तर, शवको पहिचान कसरी यकिन गरिएको थियो, त्यसबेला के–कस्ता प्रक्रिया अपनाइएका थिए र वास्तविक मृतक को हुन् भन्ने प्रश्नको जवाफ अनुसन्धानपछि मात्रै खुल्नेछ ।

मृत्यु संस्कार गरिसकेको व्यक्ति जीवितै फर्किएपछि यो घटना एउटा परिवारको असाधारण अनुभवमा मात्र सीमित छैन । यसले बेवारिसे शवको पहिचान, आफन्तबाट गरिने सनाखत र शव हस्तान्तरणअघि अपनाइने प्रक्रियाको विश्वसनीयतामाथि समेत प्रश्न उठाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×