३० करोडको सिँचाइ विद्युतीकरण योजना अन्तिम चरणमा, देवानगन्जका किसानलाई राहत

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १२:३०

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिकाका किसानले अब सिँचाइका लागि महँगो पम्प सेटको भर पर्नुपर्ने बाध्यता हट्ने भएको छ । करिब ३० करोड रुपैयाँ लागतको सिँचाइ विद्युतीकरण परियोजना अन्तिम चरणमा पुगेपछि गाउँपालिकाभरका खेतमा विद्युत्का माध्यमबाट सिँचाइ सुविधा पुर्‍याउने तयारी गरिएको हो ।

किसानलाई वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको परियोजनाअन्तर्गत गाउँपालिकाले हालसम्म १६ करोड ८४ लाख रुपैयाँ खर्च गरिसकेको छ । कुल लागतको बाँकी ४० प्रतिशत लगानी नेपाल विद्युत् प्राधिकरणले प्राविधिक तथा अन्य विविध सहयोगमार्फत व्यहोर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

‘सुखी किसान हाम्रो पहिचान’ भन्ने नारासहित कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको यो परियोजना केही दिनभित्रै औपचारिक रूपमा सुरु गर्ने तयारी छ । गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहताका अनुसार प्रत्येक वडाका खेतमा विद्युतीकरणको काम सम्पन्न भइसकेको छ । विभिन्न स्थानमा ट्रान्सफर्मर जडान गरिसकिएको छ भने मिटर बक्स जडानका लागि नेपाल विद्युत् प्राधिकरणलाई रकमसमेत पठाइसकिएको छ ।

मिटर बक्स जडानको काम पूरा भएपछि परियोजना औपचारिक रूपमा सञ्चालनमा आउने अध्यक्ष मेहताले बताए । उनका अनुसार गाउँपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै सिँचाइ सुविधाका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ ।

‘कसैलाई पक्षपात नगरी सबै नागरिकलाई लाभ पुग्ने योजना बनाउँदा सिँचाइ विद्युतीकरणलाई प्राथमिकतामा राखेका हौँ,’ अध्यक्ष मेहताले भने, ‘प्रत्येक वडाका खेतमा विद्युतीकरण भएपछि किसानलाई बाली लगाउँदा लाग्ने खर्च बचत हुन्छ । यसले कृषि उत्पादन बढाउनुका साथै गाउँपालिकाका नागरिकको आर्थिक समृद्धिमा पनि सहयोग पुर्‍याउँछ ।’

परियोजना सञ्चालनमा आएपछि खेतीको लागत घट्ने र किसानलाई ठूलो राहत पुग्ने स्थानीयको अपेक्षा छ । देवानगन्ज गाउँपालिका–२ का किसान रमेश मेहताले सिँचाइका लागि विद्युतीय सुविधा उपलब्ध हुँदा कम खर्चमा खेतमा पानी लगाउन सकिने बताए ।

आठ बिघा जमिनमा खेती गर्दै आएका रमेशका अनुसार हाल पम्प सेटमार्फत सिँचाइ गर्दा खर्च बढी लाग्ने गरेको छ । आफ्नै पम्प सेट भएका किसानलाई समेत इन्धन तथा सञ्चालन खर्चको भार पर्ने गरेको उनले बताए ।

‘विद्युतीकरण योजना सञ्चालनमा आएपछि थोरै खर्चमा सिँचाइ गर्न पाइन्छ,’ उनले भने, ‘आफ्नै पम्प सेट नहुने किसानले अरूको पम्प सेट प्रयोग गर्दा प्रतिघण्टा दुई सय रुपैयाँसम्म अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था छ । विद्युत्बाट सिँचाइ गर्न पाए किसानको खर्च निकै घट्नेछ ।’

देवानगन्ज गाउँपालिकामा ६ हजार ८४५ परिवार कृषि पेसामा आबद्ध छन् । गाउँपालिकाभित्र ४ हजार ६२५ हेक्टर कृषियोग्य जमिन रहेको छ । ठूलो संख्यामा किसान आबद्ध रहेको यस क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएपछि कृषि उत्पादन र उत्पादकत्व बढ्नुका साथै किसानको आम्दानीमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।

सिँचाइका लागि विद्युत् सुविधा उपलब्ध भएपछि किसानले कम लागतमा खेती गर्न पाउने, उत्पादन बढाउन सक्ने र कृषि पेसालाई थप व्यावसायिक बनाउन सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.