काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५ औँ पटक रक्तदान गरेका छन् । अस्पतालमा रगतको अभाव भइरहेको अवस्थामा राप्रपाले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । सोही कार्यक्रममा अध्यक्ष लिङ्देनले ९५ औँ पटक रक्तदान गरेका हुन् ।
लिङ्देनले रक्तदानलाई औपचारिक कार्यक्रम वा एक दिनको अभियानमा मात्र सीमित नगरी जीवनभर आत्मसात् गर्न सकिने सामाजिक जिम्मेवारीका रूपमा लिन आग्रह गरे । उनले मानवीय दायित्व पूरा गर्न पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई पनि आह्वान गरे ।
कार्यक्रममा राप्रपा सांसद खुस्बु ओली, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवालसहित अन्य युवाले पनि रक्तदान गरेका थिए ।