
विराटनगर । विराटनगरमा मन्दिर परिसरमै ८० वर्षीया वृद्धामाथि धारिलो हतियार प्रहार गरी सुनका गहना लुटिएको छ ।
विराटनगर महानगरपालिका–४ स्थित लक्ष्मीनारायण मन्दिरमा शुक्रबार बिहान १०ः३० बजेतिर घटना भएको हो । मन्दिरका पुजारी हरि रिमालकी पत्नी सावित्री रिमाललाई आक्रमण गरी सुनका गहना लुटपाट गरिएको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आक्रमणबाट सावित्री घाइते भएकी छन् । वृद्धा एक्लै भएको समयमा एक जना पुरुषले उनीमाथि धारिलो हतियार प्रहार गरी कानमा लगाएका सुनका गहना लुटेर फरार भएको डीएसपी मिश्रले बताए । उनका अनुसार गहना लुट्ने व्यक्ति यसअघि ज्यालादारी मजदुरका रूपमा काम गर्दै आएको र स्थानीयले देखिरहने व्यक्ति भए पनि उनको नाम र ठेगाना खुल्न सकेको छैन ।
घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको बताउँदै डीएसपी मिश्रले भने, ‘प्रारम्भिक अनुसन्धानबाट आक्रमणकारी एक्लै आएर वृद्धामाथि अचानक आक्रमण गरी गहना लुटेर भागेको देखिन्छ । आक्रमण गर्ने व्यक्तिको पहिचान र पक्राउ गर्ने प्रयास भइरहेको छ । घटनाको अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी लोकेन्द्र सिंह गुरुको नेतृत्व प्रहरी परिचालन गरिएको छ ।’
आक्रमणबाट घाइते सावित्रीको कानको लोती च्यातिएको छ । शरीरमा चोटपटक लागेको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

























