
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार पक्राउ प्रकरणमा सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् । पक्राउ परेका पत्रकार छुटिसके र कुरा सकियो भन्दैमा यो प्रकरण टुङ्ग्याउन नमिल्ने उल्लेख गर्दै उनले यस्तो कदम किन चालियो, निर्देशन कसले दिएको थियो र जिम्मेवारी कसले लिने भन्ने प्रश्नको जवाफ आवश्यक रहेको बताएका छन् ।
केही महिनाअघि सञ्चारगृह अगाडि मोटर राखेर आतङ्क सिर्जना गर्ने व्यक्तिको पहिचान गरी सार्वजनिक गर्न सरकारले नचाहेको उल्लेख गर्दै शर्माले अहिले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्दा प्रधानमन्त्री कार्यालयले आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएकोप्रति आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री कार्यालय संलग्न थियो वा थिएन भन्नेभन्दा पनि मुलुकको चौथो अङ्गमाथि यस्ता गतिविधि हुँदा सरकार स्पष्टीकरण दिएर पन्छिने हो कि जिम्मेवारीपूर्वक प्रस्तुत हुने भन्ने प्रश्न मुख्य रहेको उनको भनाइ छ ।
सत्तारूढ दलले पत्रकार पक्राउलाई गैरकानुनी भन्दै समयमै आफ्नो धारणा सार्वजनिक गरे पनि यस्ता गतिविधि दोहोरिनु चिन्ताको विषय भएको उनले बताएका छन् । सत्तारूढ दलको चुनावी घोषणापत्रमा उल्लेखित प्रेस स्वतन्त्रतालाई सरकारले समर्थन मात्रै गर्ने हो कि रक्षा पनि गर्ने हो भन्ने प्रश्नसमेत उनले उठाएका छन् ।
गिरफ्तारी गैरकानुनी भएको बताउँदैमा सरकार बनाउने दलको दायित्व पूरा नहुने शर्माको भनाइ छ । यस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न सत्तारूढ दलको भूमिका महत्त्वपूर्ण हुने र त्यसबारे सरकारले उसको आवाज सुन्नुपर्ने उनले बताएका छन् ।
आफू स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको स्पष्ट पार्दै शर्माले गलत तथा भ्रमपूर्ण समाचारको खण्डन, नियन्त्रण र आवश्यक कारबाहीका लागि निश्चित विधि रहेको बताएका छन् । संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि खतरा उत्पन्न गर्ने गैरकानुनी गतिविधि रोक्न र पत्रकार पक्राउ गर्नुको वास्तविक कारण सार्वजनिक गर्न उनले सरकारसँग माग गरेका छन् ।

























