कुलेखानी जलाशय भरिन लागेपछि तटीय क्षेत्रमा सतर्कता

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार १३:१७

हेटौँडा । लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ । यसको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले केही घण्टामै जलाशयको सतह एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले नदीकिनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा बस्न तथा आयोजनाबाट जारी सूचना र मोबाइलमा प्राप्त हुने एसएमएसमा उल्लेखित निर्देशन पालना गर्न अनुरोध गरेका छन् ।

जलविद्युत् केन्द्रले पनि चेतावनी जारी गरेको छ । जलाशयको सतह सन्तुलित राख्न बाँधका ढोका खोल्नुपर्ने अवस्था आए चेतावनीको साइरन बजाइने केन्द्रका प्रमुख राउतले बताएका छन् । उनले देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा पनि सावधानी अपनाउन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.