सरकारलाई गगनको प्रश्न- छानबिन समितिका प्रतिवेदन खै ?

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १५, आइतबार १५:२२

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारबाट हुने अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । विगतमा गठन भएका विभिन्न छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले घटना सामसुम पार्न छानबिन समिति गठन गर्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने सरकारी प्रवृत्तिको आलोचना गरे ।

‘सरकारबाट अनुसन्धान निष्पक्ष हुन्छ भन्नेबारेमा हाम्रो ठूलो प्रश्न छ,’ उनले भने, ‘अब छानबिन समिति पनि के माग्ने रु विगतका नजिर हेर्दा समिति गठन औपचारिकतामा मात्र सीमित भएको देखिन्छ ।’

थापाले विगतमा गठन भएका विभिन्न छानबिन समितिका प्रतिवेदनको अवस्थाबारे सरकारसँग जवाफ मागे । गृहमन्त्रीको सम्पत्तिबारे प्रश्न उठेपछि गठन भएको छानबिन समितिको प्रतिवेदन कहाँ छ भन्दै उनले प्रश्न गरे। त्यसैगरी भदौ २४ को घटना र सुनसरीको कप्तानगञ्ज घटनाबारे गठित समितिका प्रतिवेदन पनि सार्वजनिक नभएको उनको भनाइ थियो ।

सरकारले छानबिन प्रतिवेदनलाई आफ्नो राजनीतिक स्वार्थअनुसार प्रयोग गर्ने गरेको आरोप लगाउँदै थापाले आफूलाई आवश्यक पर्ने विषय मात्र सार्वजनिक गर्ने र बाँकी प्रतिवेदन थन्क्याउने प्रवृत्तिले नागरिकलाई गुमराहमा राखेको बताए ।

सरकारको कार्यशैलीलाई गैरजिम्मेवार र स्वेच्छाचारीको संज्ञा दिँदै उनले राज्यका गतिविधिमाथि नागरिकस्तरबाटै निगरानी र खबरदारी हुनुपर्नेमा जोड दिए । सरकारी कामकारबाहीको जबाफदेहिता खोज्न नागरिक सचेत रहनुपर्ने उनको आग्रह थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.