
काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको ‘मुरासु’ नामक चक्रवाती प्रणालीको प्रभाव नेपालमा पर्ने सम्भावना नरहेको जलवायु तथा मौसमविज्ञ उज्ज्वल उपाध्यायले बताएका छन्। उनका अनुसार आगामी दुई सातासम्म नेपालमा ठूलो मौसमी प्रणाली विकसित हुने सम्भावना कम रहेकाले तिहारको समयमा ठूलो वर्षाको चिन्ता गर्नुपर्ने अवस्था छैन।
उपाध्यायका अनुसार उक्त चक्रवाती प्रणालीको प्रभाव भारतको बिहारसम्म पनि पुग्ने सम्भावना कम देखिएको छ। त्यसैले यसको प्रभावले नेपालमा ठूलो मौसमी परिवर्तन ल्याउने सम्भावना नरहेको उनको भनाइ छ।
यद्यपि, स्थानीय मौसमी प्रणाली सक्रिय हुँदा केही स्थानमा हल्का वर्षा हुन सक्ने उनले बताएका छन्। यस्तो वर्षा सामान्य मौसमी प्रक्रियाअन्तर्गत पर्ने उनको स्पष्टोक्ति छ।
देशभरको मौसम सामान्यतया सफा र घमाइलो रहेकाले तिहारको तयारी ढुक्क भएर गर्न सकिने उनले सुझाव दिएका छन्।

























