
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ उन्मुख भएको जनाएका छन् । उनले भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताका कारण अवस्था जटिल बन्दै गएको बताएका हुन् ।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सत्तारूढ र प्रतिपक्षी दलभित्रको अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्रालाई संकटका मुख्य कारकका रूपमा औँल्याएका छन् ।
डा भट्टराईले प्राकृतिक प्रकोपको भार, युवाहरूको विदेश पलायन तथा सञ्चार क्षेत्र र नागरिक वृत्तमा बढ्दो निराशाले पनि देशको अवस्था थप चुनौतीपूर्ण बनाएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कँदो अन्तरसंघर्ष, राज्यका प्रमुख अङ्गहरू न्यायालय, प्रशासन, प्रहरी लगायतमा अस्तव्यस्तता, अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिँदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक सञ्चार क्षेत्र र नागरिक वृत्तमा चुलिँदो निराशा, आदिले देश ठूलो संकटतिर उन्मुख भइरहेको संकेत गर्छ।’
देशले अब कुनै पनि बहानामा थप अस्थिरता र उथलपुथल थेग्न नसक्ने भन्दै उनले सबै पक्षलाई गम्भीर बन्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दै सक्दैन । सबै आ–आफ्नो क्षेत्रबाट गम्भीर बनौँ । सक्छौँ, सकारात्मक योगदान गरौँ । सक्दैनौँ, नकारात्मक काम नगरौँ ।’

























