
काठमाडौं । देशका अधिकांश स्थानमा आज (मंगलबार) मौसम सामान्यतया सफा रहने भए पनि केही पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र भारतको उत्तर प्रदेशमा विकसित न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ । त्यसको प्रभावले बिहान देशका विभिन्न पहाडी तथा तराई क्षेत्रसँगै उपत्यका र खोँचहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
महाशाखाले दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने जनाएको छ । तराईका जिल्लामा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।
यस्तै, राति हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने भए पनि पहाडी र तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ । तराई, उपत्यका र खोँचका केही स्थानमा बुधबार बिहान पनि हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाको अनुमान छ ।
महाशाखाले मौसममा हुन सक्ने परिवर्तनबारे जानकारी राख्न र नियमित रूपमा मौसम पूर्वानुमान हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।



















