
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले चाडपर्वको समयमा हुन सक्ने अवैध गतिविधि नियन्त्रणमा कडाइ गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् ।
तिहार तथा छठ पर्व नजिकिँदै गर्दा पटाकाजन्य पदार्थको अवैध बिक्री, ओसारपसार, भन्सार छली, लागुऔषध कारोबार र जुवातास नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गर्न उनले निर्देशन दिएका हुन् । भर्चुअल माध्यमबाट मातहतका प्रहरी प्रमुखहरूसँग मंगलबार भएको त्रैमासिक कार्यप्रगति समीक्षाका क्रममा खनालले चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । उनले कार्यसम्पादन सम्झौतामा तोकिएका जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै नतिजा देखिने गरी काम गर्न प्रहरी अधिकारीहरूलाई आग्रह गरे ।
समीक्षाका क्रममा गत साउनदेखि असोजसम्मको प्रहरी कार्यसम्पादनको अवस्थाबारे छलफल भएको थियो । प्रहरी कार्यालयहरूको प्रशासनिक तथा आन्तरिक व्यवस्थापन, प्रमाणमुखी अनुसन्धान, फरार प्रतिवादी पक्राउ र लागुऔषध नियन्त्रणका विषयलाई विशेष रूपमा उठाइएको थियो ।
त्यस्तै, भन्सार छली, चोरी तथा लुटपाट, मादक पदार्थ सेवन र लागूपदार्थ सेवन गरी सवारी चलाउनेमाथिको निगरानी, ध्वनि प्रदूषण, जुवाजन्य गतिविधि, साइबर तथा आर्थिक अपराध नियन्त्रणका प्रयासबारे पनि समीक्षा गरिएको थियो । सवारी दुर्घटना न्यूनीकरण र समुदाय प्रहरी साझेदारीअन्तर्गत सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमको प्रगतिसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा डीएसपी रामप्रसाद तिमल्सिनाले त्रैमासिक कार्यप्रगतिको विवरण प्रस्तुत गरेका थिए । उनले विभिन्न प्रहरी कार्यालयले कार्यसम्पादन सम्झौताअनुसार गरेका कामको अवस्थाबारे जानकारी गराएका थिए ।
समीक्षामा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक एसएसपी शिवकुमार श्रेष्ठ, प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्र सिंह थापा, एसपीहरु सुमनकुमार तिम्सिना र नारायणप्रसाद चिमरिया तथा प्रदेश प्रहरी गण विराटनगरका प्रमुख एवं एसपी मानबहादुर राईलगायतका प्रहरी अधिकृत र कर्मचारी सहभागी थिए ।

























