
काठमाडौं । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएपछि सरकारले दुर्घटनाको प्राविधिक तथा अन्य पक्षबारे अनुसन्धान थालेको छ ।
मंगलबार बिहान करिब ८ः१२ बजेतिर अवतरणको क्रममा एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर आपसमा ठोक्किएका थिए । एयर डाइनेस्टीको ‘९एन–एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ हेलिकोप्टर दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा फिस्टेल एयरको हेलिकोप्टरमा सवार भारतको तमिलनाडु राज्यअन्तर्गत चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको ज्यान गएको छ । उनको शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ । दुर्घटनामा घाइते भएकाहरूको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
दुई हेलिकोप्टर कसरी एकापसमा ठोक्किए भन्ने विषय अहिले अनुसन्धानको दायरामा छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घटनाको विस्तृत अध्ययन सुरु गरिएको जनाएको छ ।
मन्त्रालयका अनुसार दुर्घटनाको वास्तविक परिस्थिति र प्राविधिक कारण पहिचान गरी त्यसका आधारमा हवाई सुरक्षासम्बन्धी आवश्यक सुधारका कदम चालिनेछ । नेपाली आकाशमा हवाई सुरक्षालाई प्रभावकारी बनाउन मापदण्ड कार्यान्वयन, नियमित अनुगमन र नियमनलाई प्राथमिकतामा राखिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
दुर्घटनाको अनुसन्धानबाट प्राप्त निष्कर्ष र सुझावका आधारमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

























