
विराटनगर । विराटनगरमा सामुदायिक भवनको सटर भाडामा लिएर सञ्चालन गरिएको सुनचाँदी पसलमा चोरी भएको छ ।
विराटनगर महानगरपालिका–३ पुष्पलाल चोकस्थित सामुदायिक भवनको सटरमा सञ्चालित विराटनगर–१२ का जयप्रकाश विश्वकर्माको परी गहना पसलमा चोरी भएको हो । सोमबार राति पसलको पछाडिपट्टिको झ्याल फुटाएर चोर पसलभित्र प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
मंगलबार बिहान पसल खोलेर हेर्दा झ्याल फुटेको र चोरी भएको थाहा पाएपछि सञ्चालक विश्वकर्माले प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी घिनाघाटबाट असई दोर्ण खत्रीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर अभिषेककुमार श्रेष्ठ नेतृत्वको टोली परिचालन गरिएको छ ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य अघि बढाएको मिश्रले बताए । उनका अनुसार चोरी भएको गहना तथा अन्य सामानको विवरण र घटनामा संलग्न व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेको छ ।























