उर्लाबारीको वडाबाट सेवाग्राहीको आवश्यकताअनुसार २४ सै घण्टा सेवा

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार ०७:३८

उर्लाबारी । सरकारी कार्यालय भनेपछि निश्चित समयभित्र मात्र सेवा पाइन्छ भन्ने आम बुझाइ छ ।

तर, मोरङको उर्लाबारी नगरपालिका–३ को वडा कार्यालयले भने यो परम्परागत अभ्यासभन्दा फरक ढंगले नागरिकलाई सेवा दिँदै आएको छ । सेवाग्राहीको आवश्यकता र अवस्थालाई प्राथमिकता दिँदै वडाले २४ सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको हो ।

कार्यालय समय सकिएपछि पनि नागरिकलाई आवश्यक परेको अवस्थामा वडा कार्यालय खुल्ने गरेको छ । सेवाग्राहीले फोनमार्फत जानकारी गराएपछि उपलब्ध कर्मचारी कार्यालय पुगेर सेवा दिने गरेका छन् । वडाध्यक्ष भीष्मराज बुढाथोकी स्वयं पनि आवश्यकताअनुसार जुनसुकै समयमा वडा कार्यालय पुगेर नागरिकका काममा सहजीकरण गर्दै आएका छन् ।

वडाबाट नागरिकता सिफारिस, जन्म, मृत्यु, विवाह तथा बसाइँसराइ दर्ता, नाता प्रमाणित, घरबाटो सिफारिस, चारकिल्ला प्रमाणित, विभिन्न सामाजिक तथा आर्थिक अवस्थासम्बन्धी सिफारिसलगायतका प्रशासनिक सेवा प्रदान गरिन्छ । त्यस्तै, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिसम्बन्धी सेवा, योजना छनोट तथा कार्यान्वयन, विकास निर्माणको अनुगमन र स्थानीयस्तरका विवाद समाधानमा समेत वडा कार्यालयको भूमिका महत्वपूर्ण हुन्छ ।

उर्लाबारी–३ को वडा कार्यालयले विशेषगरी अशक्त, अपांगता भएका व्यक्ति तथा वृद्धवृद्धालाई लक्षित गरेर घरमै पुगेर सेवा दिने अभ्यासलाई प्राथमिकता दिएको छ । सामाजिक सुरक्षा भत्तालगायतका सेवाका लागि कार्यालयसम्म आउन नसक्ने नागरिकलाई घरमै पुगेर सहजीकरण गर्ने गरिएको वडाध्यक्ष बुढाथोकी बताउँछन् ।

‘सामाजिक सुरक्षा भत्तालगायतका सेवाहरू घरमै पुगेर दिने गरेका छौँ । अशक्त एवं वृद्धवृद्धालाई वडासम्म आउने झन्झट दिँदैनौँ,’ उनले भने ।

स्थानीय सरकारको औचित्य नागरिकले आफ्नै घरआँगनमा सहज सेवा पाउनुमा जोडिएको हुन्छ । कानुनी रूपमा तोकिएका सेवा र जिम्मेवारी समयमै पूरा गर्नुका साथै सेवाग्राहीको अवस्थाअनुसार सेवा दिने वडा कार्यालयको अभ्यासले स्थानीय सरकारप्रतिको विश्वास बढाउन सहयोग पुग्न सक्छ ।

उर्लाबारी–३ को यो अभ्यासले सार्वजनिक सेवा प्रवाहलाई कार्यालयको समयसीमाभन्दा नागरिकको आवश्यकतासँग जोड्न खोजेको देखिन्छ । वडाअध्यक्ष बुढाथोकीको सक्रियतामा वडाले आवश्यकता परेका बेला जुनसुकै समयमा पनि सेवा दिन सुरु गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.