संखुवासभा जिल्ला अस्पताल १०० शय्यामा स्तरोन्नति गरिने

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार १५:२२

खाँदबारी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संखुवासभा जिल्ला अस्पताललाई ५० शय्याबाट स्तरोन्नति गरी १०० शय्याको सुविधासम्पन्न प्रादेशिक अस्पताल बनाउने घोषणा गरेका छन् ।

शुक्रबार अस्पतालको नवनिर्मित ५० शय्याको भवन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले अस्पतालको क्षमता विस्तार र सेवा सुधारको काम तत्काल अघि बढाउन निर्देशन दिए । उनले अस्पताललाई १०० शय्यामा सञ्चालन गर्न आवश्यक पर्ने चिकित्सक, नर्स तथा प्राविधिक जनशक्तिको दरबन्दी प्रदेश सरकारले थप गर्ने प्रतिबद्धता पनि जनाए ।

अस्पतालको स्तरोन्नतिका लागि आवश्यक भौतिक संरचना र बजेटको व्यवस्था प्रदेश सरकारले गरिसकेको बताउँदै उनले कार्यप्रगतिका आधारमा थप बजेट विनियोजन गरिने जानकारी दिए । नयाँ भवन सञ्चालनमा आइसकेको र यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवाको माग बढ्दै गएकाले थप शय्या विस्तारको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने उनको भनाइ थियो ।

अस्पतालमा विगतमा बजेट विनियोजन भएर पनि प्रक्रियागत ढिलाइका कारण रोकिएको सिटी स्क्यान मेसिन खरिद यसै आर्थिक वर्षभित्र टुङ्गोमा पुर्‍याइने मुख्यमन्त्री कार्कीले बताए । उनले अस्पताल प्रशासन र मेडिकल सुपरिटेन्डेन्टलाई मेसिनको प्राविधिक विवरण तयार गरी स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिन निर्देशन दिए । मेसिन खरिदका लागि अपुग हुने दुईदेखि चार करोड रुपैयाँ प्रदेश सरकारले यसै वर्ष उपलब्ध गराउने उनले घोषणा गरे ।

अस्पतालको सेवा विस्तारसँगै खाँदबारीमा नर्सिङलगायत स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको योजना रहेको पनि उनले बताए । यसका लागि विदुषी हिमालय योगमाया आयुर्वेद विश्वविद्यालयसँग समन्वय गरी स्थानीय स्तरमै प्राविधिक शिक्षाको पहुँच विस्तार गरिने उनको भनाइ थियो ।

कोशी राजमार्गको विस्तार र अरुण नदीमा निर्माण भइरहेका पुलका कारण जिल्ला अस्पताल संखुवासभासहित भोजपुरका केही क्षेत्र र धनकुटाको महालक्ष्मी नगरपालिकाका नागरिकका लागि प्रमुख उपचार केन्द्र बन्ने मुख्यमन्त्री कार्कीले बताए । लालीगुराँस पदमार्गलगायत पर्यटकीय पूर्वाधारका कारण यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत अस्पतालले आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने उनले विश्वास व्यक्त गरे ।

सरकारी लगानीको सदुपयोग र अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा नागरिक समाजलाई नियमित अनुगमनमा सक्रिय हुन पनि मुख्यमन्त्री कार्कीले आग्रह गरे ।

जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले जिल्ला अस्पतालले संखुवासभाका साथै छिमेकी भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई समेत विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए ।

भवन उद्घाटन कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुली, आर्थिक मामिलामन्त्री विदुर लिङ्थेप, पूर्वस्वास्थ्यमन्त्री तथा सांसद राजेन्द्र कार्कीलगायत सहभागी थिए । संविधानसभा सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र पूर्वसांसद राजेन्द्र गौतमले पनि जिल्ला अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका थिए ।

सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामार्फत २७ करोड २७ लाख ८० हजार रुपैयाँ लागतमा अस्पतालको ५० शय्या क्षमताको नयाँ भवन निर्माण गरिएको हो । २०७५ असार २२ गते निर्माणको जिम्मा पाएको विकोई/स्वामीनारायण/आशीर्वाद निर्माण कम्पनीले लामो समयपछि भवन निर्माण सम्पन्न गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.