पर्यटन प्रबर्द्धन गर्न इलामको कन्याममा चिया महोत्सव हुँदै

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १३:५६

इलाम । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको प्रमुख पर्यटकीय क्षेत्र कन्याममा ‘प्रथम सूर्योदय चिया महोत्सव-२०८३’ आयोजना हुने भएको छ । सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आगामी मंसिर ५ र ६ गते महोत्सव हुन लागेको हो ।

महोत्सव व्यवस्थापनका लागि सूर्योदय नगरपालिका-१० का वडाध्यक्ष पेमा उगेन लामाको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ । सूर्योदय नगरपालिका-७, ८ र ९ का जनप्रतिनिधि तथा स्थानीय चिया पर्यटन व्यवसायी सम्मिलित समितिले महोत्सवको तयारी तीव्र पारेको संयोजक लामाले बताए ।

उनका अनुसार महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी पदयात्रा, स्थानीय खाना तथा परिकारको प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ ।

महोत्सवका क्रममा ‘जलवायु परिवर्तनको सामना : दिगो चियाखेती र चिया कृषकको जगेर्ना’ विषयमा अन्तरसंवाद पनि हुनेछ । अन्तरसंवादमा संघीय सांसद, नेपाल सरकारका कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव र स्थानीय प्रतिनिधि सहभागी हुनेछन् । पत्रकार बसन्त बस्नेतले सहजीकरण गर्ने कार्यक्रम रहेको संयोजक लामाले जानकारी दिए ।

महोत्सवमा स्थानीय खाद्य परिकारका कक्ष राखिनुका साथै सूर्योदय नगरपालिका क्षेत्रमा उत्पादन हुने विभिन्न ब्रान्डका चियाको प्रदर्शनी, स्वाद परीक्षण र बजारीकरणको व्यवस्था गरिने समितिका सदस्य सचिव खेम राईले बताए ।

महोत्सवमा पुरुष र महिलातर्फ छुट्टाछुट्टै ‘टी ट्रेल रेस’ प्रतियोगिता सञ्चालन हुनेछ । पुरुषतर्फ १२ दशमलव ५ किलोमिटर र महिलातर्फ ९ किलोमिटर दूरीको दौड हुनेछ ।

पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिलातर्फ पहिलो हुनेलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

महोत्सवमा आन्तरिक तथा बाह्य गरी १० हजारभन्दा बढी पर्यटक सहभागी हुने अपेक्षा गरिएको संयोजक लामाले बताए । चिया पर्यटन प्रवर्द्धन र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलो पटक महोत्सव आयोजना गर्न लागिएको उनले बताए । महोत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाअन्तर्गत सूर्योदय नगरपालिका-७ को कन्यामदेखि वडा नं. ५ को श्रीअन्तुसम्म २५ दशमलव ५ किलोमिटर लामो चिया पदमार्ग निर्माण भइरहेको छ ।

सूर्योदय नगरपालिका-७ मा रहेको कन्याम इलामको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक हो । चारैतिर हरियाली चियाबारीले घेरिएको कन्याममा वनभोज, घोडचढी, फोटो तथा भिडियो खिच्न र दृश्यावलोकनका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गर्छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.