मिडियामाथिको दबाबविरुद्ध प्रदर्शन

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १४:२८

काठमाडौं । मिडियामाथि नियन्त्रणको प्रयास र दबाबविरुद्ध शनिबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । युवाहरूको समूहले कालो पोसाक लगाएर ब्यानरसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले सञ्चारमाध्यमको स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाए । पछिल्लो समय सरकार र प्रहरीबाट सञ्चारमाध्यममाथि हस्तक्षेप तथा पत्रकारमाथि दबाब बढेको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

यसअघि गत कात्तिक १३ गते सादा पोसाकका प्रहरीले काठमाडौंका विभिन्न सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएका थिए । नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभ न्युजका सम्पादक शोभराज बराल र डीएनए खबरका सम्पादक धिरज बस्नेतलाई प्रहरीले कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । उनीहरूलाई केही समयपछि रिहा गरिएको थियो ।

प्रहरी टोलीले नयापत्रिका र दियोपोस्टका कार्यालयमा पनि पत्रकारको खोजी गरेको थियो । सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र समाचारका स्रोतबारे सोधपुछ गर्ने प्रयास भएको भन्दै पत्रकार महासंघसहित विभिन्न सञ्चारसम्बद्ध संस्था र व्यक्तिहरूले आपत्ति जनाएका थिए ।

त्यसयता मिडियामाथि नियन्त्रणको प्रयास र दबाब बढेको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.