डाटा सुरक्षा बोर्ड स्थापना गर्ने सरकारको तयारी

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १५:४३

काठमाडौं । सरकारले साइबर सुरक्षा र डाटा संरक्षणका लागि छुट्टै डाटा सुरक्षा बोर्ड स्थापना गर्ने तयारी अघि बढाएको छ ।

डिजिटल मिडिया फाउन्डेसनले शनिबार काठमाडौंको होटल हिमालयमा आयोजना गरेको ‘नेसनल एआई समिट २०२६’ मा बोल्दै प्रधानमन्त्री कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालयका सहसचिव सुवास ढकालले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार सरकारले आगामी छ महिनाभित्र डाटा सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट पारित गरी संसद्मा पेस गर्ने तयारी गरेको छ । त्यसका लागि विधेयकको मस्यौदा तयार गर्ने काम भइरहेको उनले बताए ।

डाटा सुरक्षा नीतिबारे संविधानमै स्पष्ट व्यवस्था रहेकाले त्यसको कार्यान्वयनका लागि बोर्ड स्थापना गर्न लागिएको ढकालको भनाइ छ । ‘डाटा प्रोटेक्सन पोलिसी हाम्रो संविधानमै छ । हामीलाई चाहिएको डाटा सुरक्षा बोर्ड हो,’ उनले भने, ‘छ महिनाभित्र सरकारले डाटा सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट पारित गरेर संसद्मा लैजान्छ ।’ सरकारी निकायको मात्र नभई निजी क्षेत्र र नागरिकको डाटा सुरक्षाका लागि पनि बोर्ड आवश्यक रहेको उनले बताए ।

सरकारी निकायमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सरकारले गम्भीर गृहकार्य गरिरहेको पनि ढकालले जानकारी दिए । एआईसँग सम्बन्धित सेवामा विश्वव्यापी प्रतिस्पर्धा गर्न सरकारले एआई नीतिमार्फत आफ्नो योजना स्पष्ट पारिसकेको उनको दाबी छ ।

नेपालमा स्वच्छ ऊर्जाको प्रचुर उपलब्धता र हिमालय क्षेत्रका कारण एआई डाटा सेन्टर सञ्चालनको सम्भावना रहेको उनले औँल्याए । डाटा तथा साइबर सुरक्षा सरकारको मात्र नभई नागरिकको समेत जिम्मेवारी भएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.