माछा खाएपछि बिरामी परेका दम्पतीको केही घण्टाको अन्तरमा मृत्यु

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १३:१४

सुनसरी । तिहारको रमझममा लक्ष्मीपूजाको तयारी भइरहेका बेला इटहरी-७ सुमङ्गल टोलको एउटा घरमा भने अकल्पनीय शोक छायो । शनिबार साँझ केही घण्टाको अन्तरमा ५७ वर्षीय रामु चौधरी र उनकी ५१ वर्षीया श्रीमती कञ्चन चौधरीको मृत्यु भएपछि परिवार र छिमेकी स्तब्ध बनेका छन् ।

दुवै जनाको मृत्युको कारण अझै खुलेको छैन । परिवारका सदस्यले बिहीबार साँझ माछा खाएपछि बिरामी पर्न थालेको बताएका छन् । त्यसैले खाद्य विषाक्तताको आशंका गरिएको छ । तर माछा खाएकै कारण उनीहरूको मृत्यु भएको पुष्टि भने भइसकेको छैन ।

परिवारकी छोरी सुमिना चौधरीका अनुसार स्थानीय बिहीबारे बजारबाट कञ्चनले ल्याएको जलकपुर माछा बिहीबार साँझ परिवारका सदस्यले खाएका थिए । बाँकी रहेको माछा शुक्रबार बिहान पनि खाइएको थियो । त्यसपछि परिवारका सदस्यमा क्रमशः स्वास्थ्य समस्या देखिन थालेको सुमिनाले बताइन् ।

सुमिनालाई शुक्रबारदेखि ज्वरो आएको थियो । पछि पखाला लागेपछि उनलाई इटहरीस्थित आदर्श मेडिकलमा लगेर उपचार गराइएको थियो । बुबा रामुलाई ज्वरो र बान्ता तथा आमा कञ्चनलाई शनिबार बिहानदेखि बान्ता र पखाला सुरु भएको थियो । शनिबार घरका तीनै जना बिरामी परेपछि बाहिर निस्कनसमेत सकेनन् ।

मिस्त्री काम गर्ने रामुले शनिबार बिहानै शरीर दुखेको भन्दै ठेकेदारलाई काममा आउन नसक्ने जानकारी गराएका थिए । अस्वस्थ हुँदाहुँदै पनि उनी घरको सरसफाइमा लागेका थिए । काम गर्ने क्रममा बान्ता भएपछि आराम गर्न ओछ्यानमा पुगेका उनको साँझ त्यहीँ मृत्यु भयो । बुबाको अवस्था बुझ्न पुगेकी कञ्चन पनि केहीबेरमै त्यहीँ ढलिन् । आमाबुबा दुवैलाई एकै ठाउँमा ढलेको देखेपछि सुमिनाले दाजु सुनिललाई फोन गरेर घर बोलाइन् । सुनिलले आफन्त र छिमेकीलाई खबर गरेपछि उनीहरू चौधरीको घर पुगेका थिए ।

त्यतिबेला कञ्चन बेहोस अवस्थामा थिइन् । आफन्त र छिमेकीले उनलाई एम्बुलेन्समा राखेर विराट शिक्षण अस्पताल पुर्‍याए । तर चिकित्सकले जाँच गरेपछि उनलाई मृत घोषणा गरे । उनीसँगै अस्पताल पुगेका छिमेकी वसन्त कार्कीका अनुसार अस्पतालबाट मृत्यु प्रमाणपत्र लिएपछि कञ्चनको शव एम्बुलेन्समै घर फर्काइएको थियो ।

रामुका दाजु महादेव चौधरी पनि खबर पाएपछि भाइको घर पुगेका थिए । आफू पुग्दा भाइ र बुहारी दुवैको मृत्यु भइसकेको उनले बताए । तीन दाजुभाइमध्ये रामु कान्छा थिए । उनीहरूका घर नजिकै छन् । टाढाका आफन्तलाई खबर गरिएको र उनीहरू आएपछि दाहसंस्कार गर्ने तयारी रहेको महादेवले जानकारी दिए ।

इटहरीस्थित आदर्श मेडिकलका चिकित्सक तथा सञ्चालक राजीव यादवले उपचारका लागि आएकी सुमिनामा देखिएका लक्षण ‘फुड पोइजनिङ’ सँग मिल्ने बताएका छन् । उनलाई औषधि दिइएको भए पनि अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था रहेको यादवले जानकारी दिए ।

यद्यपि, परिवारले खाएको माछा र बिरामी हुनुबीच सम्बन्ध रहेको पुष्टि भइसकेको छैन । इटहरी-७ का वडा सदस्य दीपक घिमिरेले रामु र कञ्चनको मृत्युको कारण आधिकारिक रूपमा खुल्न बाँकी रहेको बताए । उनका अनुसार रामुलाई उच्च रक्तचाप र कञ्चनलाई मधुमेह थियो ।

चाडपर्वका बेला चहलपहल हुने सुमङ्गल टोल लक्ष्मीपूजाको दिन भने शोकमा डुबेको छ । आमाबुबा दुवै गुमाएका सुमिना र उनका दाजु सुनिल आफन्त आइपुग्ने प्रतीक्षामा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.