
काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ । आइतबार हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो ।
छ टोली सहभागी प्रतियोगितामा नेपालले खेलेका ६ खेलमध्ये चारमा जित निकाल्यो भने दुई खेल वर्षाका कारण रद्द भए ।
नेपालले पहिलो खेलमा थाइल्यान्डलाई सात विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको थियो । दोस्रो खेलमा चीनसँग प्रतिस्पर्धा गर्दा वर्षाका कारण नतिजा आउन सकेन । तेस्रो खेलमा हङकङलाई ९२ रनले हराएको नेपालले चौथो खेलमा थाइल्यान्डलाई ५२ रनले पराजित गरेको थियो ।
त्यसपछि पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले हराउँदै नेपालले उपाधि यात्रा बलियो बनाएको थियो । अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको नेपालले वर्षाका कारण खेल रोकिनुअघि ११ ओभरमा दुई विकेट गुमाएर ८८ रन बनाएको थियो । मौसम प्रतिकूल भएपछि खेल पुनः सञ्चालन हुन सकेन ।
प्रतियोगितामा नेपाल, आयोजक चीन, हङकङ र थाइल्यान्ड सहभागी थिए ।

























