
काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक रेस्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले ६ लाख ८५ हजार १९५ रुपैयाँ र नौ बुक तास बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४ का ४९ वर्षीय सुनिल श्रेष्ठ, ३७ वर्षीय सहिद महमद र २८ वर्षीय सरोज कार्की छन् । त्यस्तै, बूढानीलकण्ठ नगरपालिका-१२ का ३१ वर्षीय सोनाम शेर्पा, ललितपुर महानगरपालिका-२५ का २२ वर्षीय अनिल लामिछाने र काठमाडौं महानगरपालिका-२ का ३७ वर्षीय गणेशमान श्रेष्ठ पनि पक्राउ परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका-४ का ३४ वर्षीय अनिल भण्डारी, संखुवासभाको सभापोखरी गाउँपालिका-६ का ३५ वर्षीय तारावीर तामाङ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-३ का २१ वर्षीय महेन्द्र खनाल पक्राउ परेको प्रहरीले जनाएको छ ।

























