
काठमाडौं । थाइल्यान्डबाट १ किलो ६०० ग्राम लागुऔषध गाँजा ल्याएको आरोपमा एक भारतीय नागरिक काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्यान्डबाट नेपाल आउने यात्रुको गतिविधि निगरानी गर्ने क्रममा विमानस्थलमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
शनिबार थाई एयरवेजको उडान नम्बर टीजी ३१९ मार्फत थाइल्यान्डबाट काठमाडौं आएका ३० वर्षीय भारतीय नागरिक जयेश साहेब्रोलाई गाँजासहित पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
उनको साथबाट १ किलो ६०० ग्राम गाँजा, एक थान राहदानी र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहेब्रोमाथि लागुऔषध नियन्त्रण ब्युरोले थप अनुसन्धान गरिरहेको छ ।

























