साइबर ब्युरो पुगे कांग्रेस सहमहामन्त्री शिवाकोटी

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १६:२८

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले सोधपुछका लागि बोलाएको छ । ब्युरोको बोलावटपछि उनी लक्ष्मीपूजाको दिन आइतबार दिउँसो १:४० बजे कार्यालय पुगेका हुन् ।

शिवाकोटीका अनुसार उनी दुई घण्टादेखि ब्युरोमै छन् र उनीसँग सोधपुछ भइरहेको छ । उनले आफूसँगै कानुन व्यवसायी लैजान चाहे पनि प्रहरीले प्रवेश अनुमति नदिएको बताए ।

पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई सोधपुछका लागि बोलाइएको ब्युरो स्रोतले जनाएको छ । स्रोतका अनुसार शिवाकोटी र खड्कासँग छुट्टाछुट्टै सोधपुछ गरिएको छ । उनीहरूबीच सहमति गराउने प्रयाससमेत भइरहेको स्रोतको भनाइ छ ।

शिवाकोटीले सामाजिक सञ्जालमा खड्कालाई लक्षित गर्दै उनका भनाइप्रति प्रश्न उठाएका थिए । प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नको सरकारले पनि जिम्मेवार रूपमा जवाफ दिनुपर्ने उनको भनाइ थियो ।

पछिल्ला दिनमा शिवाकोटीले सरकारले विधि र विधान मिचेर काम गरेको तथा कांग्रेसलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आएका छन् । उनले बिचौलिया भनिएका इनम सापकोटा र प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनका विषयमा पनि आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

यसअघि पनि साइबर ब्युरोले गत साता शिवाकोटीलाई सम्पर्क गर्न खोजेको थियो । त्यतिबेला उनी धार्मिक यात्राका क्रममा भारतमा रहेकाले सम्पर्क हुन नसकेको र साथीहरूमार्फत ब्युरोले खोजेको जानकारी पाएको उनले बताएका थिए । त्यसपछि कार्यक्रम छोट्याएर गत बिहीबार नै काठमाडौं फर्किएको उनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.