
काठमाडौं । सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने तथा सर्वसाधारणलाई असहज हुने गरी सञ्चालन गरिएका ५६ वटा दुई पांग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चाडपर्वका बेला सडकमा शान्ति, सुरक्षा र सहज आवागमन कायम गर्ने उद्देश्यले काठमाडौंका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ती सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये ५२ वटा मोटरसाइकल र चारवटा स्कुटर छन्। जिल्ला प्रहरी परिसर तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको टोलीले निगरानी र चेकजाँच गर्ने क्रममा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सवारीसाधन फेला पारेको थियो।
नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























