
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले गोप्य सूचनाका आधारमा कात्तिक २२ गते राति विभिन्न स्थानमा सञ्चालन गरेको विशेष कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा नगद हारजित हुने गरी जुवा खेल भइरहेको सूचना प्राप्त भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहतका प्रहरी कार्यालयबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरीले विभिन्न स्थानमा खानतलासी गर्ने क्रममा जुवामा प्रयोग भएको आशंकामा नेपाली रुपैयाँ १२ लाख ३२ हजार ८४५ र भारतीय रुपैयाँ १३ हजार १२५ बरामद गरेको छ । भारतीय मुद्रालाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा २१ हजार रुपैयाँ कायम गरिएको र दुवै मुद्रा गरी कुल १२ लाख ५३ हजार ८४५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, जुवा खेल्न प्रयोग गरिएका ५२ पत्तीका ५३ गड्डी ताससमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा सुर्खेतका अतिरिक्त दैलेख, जुम्ला, बर्दिया, कैलाली, अर्घाखाँची तथा भारतका विभिन्न स्थानका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूको नाम, उमेर र ठेगानासहितको विवरणसमेत प्रहरीले सार्वजनिक गरेको छ ।
घटनामा संलग्न व्यक्तिहरू तथा बरामद भएका नगद र अन्य सामग्रीका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका व्यक्तिहरूको कानुनी जिम्मेवारी अनुसन्धान र न्यायिक प्रक्रियाबाट टुङ्गो लाग्ने प्रहरीले जनाएको छ ।

























