
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म कोषमा ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ता आबद्ध भएका छन्।
कोषको तथ्यांकअनुसार हालसम्म कुल १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ संकलन भएको छ। तर कुल योगदानकर्तामध्ये २४ लाख ५० हजार ९५८ जना अर्थात् करिब ७५.६ प्रतिशत वैदेशिक रोजगारी क्षेत्रमा कार्यरत श्रमिक छन्।
औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३, अनौपचारिक क्षेत्रबाट १ हजार १६८ र स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना कोषमा आबद्ध भएका छन्। यसले स्वदेशभित्रका अनौपचारिक तथा स्वरोजगार श्रमिकसम्म सामाजिक सुरक्षा कार्यक्रमको पहुँच निकै न्यून रहेको देखाएको छ।
प्रदेशगत रूपमा औपचारिक क्षेत्रका रोजगारदाता संस्थामध्ये बागमतीमा सबैभन्दा धेरै १५ हजार ५५१ संस्था सूचीकृत छन्। कोशीमा २ हजार ७०३, लुम्बिनीमा २ हजार १९०, गण्डकीमा १ हजार ४२८, मधेशमा १ हजार ३२१, सुदूरपश्चिममा ३८० र कर्णालीमा ३१४ रोजगारदाता आबद्ध छन्।
कोषका अनुसार असोज मसान्तसम्म विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी गरिएको छ। कोषले स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनामार्फत योगदानकर्तालाई सुविधा उपलब्ध गराउँदै आएको छ।
संकलित रकम र योगदानकर्ताको संख्या बढ्दै गए पनि अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्नु र प्रदेशगत असन्तुलन घटाउनु कोषका लागि चुनौतीका रूपमा देखिएको छ।



















