अस्ट्रेलियाबाट बाढीपहिरो पीडितलाई ६० हजार डलर सहयोग

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २६, बिहीबार ११:३८

काठमाडौं । नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर नेपाल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लु नुलीले सहयोग रकमको चेक अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत तारा गौतमलाई हस्तान्तरण गरेका हुन्। उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ।

कार्यक्रममा सीईओ नुलीले नेपालमा बाढीपहिरोबाट प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले अस्ट्रेलियामा रहेका नेपाली तथा अन्य सहयोगीहरूको साथबाट रकम जुटाइएको जानकारी दिए।

सन् २०१५ मा स्थापना भएको रिच फर नेपाल फाउन्डेसनले नेपालमा मानवीय सहायता तथा सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले विशेषगरी पश्चिम नेपाल र गण्डकी प्रदेशका दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्यालय तथा सामुदायिक पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको नुलीले बताए।

उनका अनुसार सन् २०१५ को भूकम्पपछि स्थापना भएको संस्थाले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण, खानेपानी तथा सरसफाइ सुविधा विस्तार र स्वास्थ्य एवं शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नुलीले नेपाललाई सहयोग गर्न इच्छुक व्यक्तिहरू आफैँ संस्थासँग सम्पर्कमा आउने गरेको उल्लेख गर्दै आगामी दिनमा पनि नेपालको आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने बताए।

यसैबीच, बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था र पुनर्निर्माणको आवश्यकता अध्ययन गर्न इन्जिनियर तथा विभिन्न विषयका विज्ञ सम्मिलित टोली नेपाल पठाउने तयारी भइरहेको उनले जानकारी दिए। टोलीले स्थलगत अध्ययन गरी आवश्यक प्राविधिक सहयोग तथा पुनर्निर्माणका सम्भावित योजनाबारे सुझाव दिनेछ।

कार्यवाहक राजदूत तारा गौतमले विपद्का बेला नेपाल र नेपाली नागरिकलाई सहयोग पुर्‍याएको भन्दै फाउन्डेसन, यसका पदाधिकारी, स्वयंसेवक तथा सहयोगदाताप्रति आभार व्यक्त गरिन्। उनले अस्ट्रेलियामा रहेर पनि नेपालका प्रभावित नागरिकका लागि सहयोग जुटाउनु मानवीय सेवाको प्रशंसनीय कार्य भएको बताइन्।

कार्यक्रममा नेपाली दूतावासका कर्मचारी, फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (फेन्का) का प्रतिनिधि डा. कृष्ण हमाल तथा रिच फर नेपाल फाउन्डेसनका प्रतिनिधिहरूको सहभागिता थियो।

क्यानबेरामा आधारित रिच फर नेपाल फाउन्डेसनले स्वयंसेवकहरूको सहकार्यमा अस्ट्रेलियाबाट संकलित सहयोग नेपालका दुर्गम तथा आवश्यकतामा रहेका समुदायसम्म पुर्‍याउँदै आएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.