
काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई १३३ रनको लक्ष्य दिएको छ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रन बनाउँदै अलआउट भयो।
विराटनगरका कप्तान सन्दीपले चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। उनले १५औँ ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए। उनले युवराज सिंह सम्रा, चामिका करुणारत्ने र किरण ठगुन्नालाई लगातार आउट गरेका हुन्।
यससँगै सन्दीप जारी सिजनमा ह्याट्रिक गर्ने तथा एकै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन्। उनले यसअघि अर्जुन घर्ती, सन्नी विक र रमेश मेन्डिसलाई पनि आउट गरेका थिए।
पोखराका लागि ओपनर युवराज सिंह सम्राले सर्वाधिक ८४ रन बनाए। उनले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे। लगातार दोस्रो अर्धशतक बनाएका युवराजले यसअघि कर्णाली याक्सविरुद्ध १०२ रनको शतकीय इनिङ खेलेका थिए।
त्यस्तै, धनञ्जय लक्षमले १५ बलमा २२ रनको योगदान दिए।
प्लेअफमा स्थान बनाउन दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ। विराटनगर दुई जितबाट चार अंक जोड्दै छैटौँ स्थानमा रहँदा एक जित निकालेको पोखरा अंकतालिकाको पुछारमा छ।



















