युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २६, बिहीबार २०:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुगेका ढकालले  दुबईमा युएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन् । भेटमा नेपाल–युएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार र नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो ।

भेटका क्रममा ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डाटा सेन्टरका क्षेत्रमा उच्च सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रमा लगानी गर्न आग्रह गरे । पर्याप्त स्वच्छ ऊर्जा र चिसो हावापानीका कारण नेपाल सूचना प्रविधि तथा डाटा सेन्टर स्थापनाका लागि आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ थियो । यसका साथै केबलकार र स्की रिसोर्टजस्ता उच्चस्तरीय पर्यटन पूर्वाधारमा पनि लगानीको ठूलो अवसर रहेको उनले बताए ।

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा दुवै पक्षले खुसी व्यक्त गरेका थिए । सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीका अवसरमा विशेष समारोह आयोजना गर्ने मन्त्री अल जेउदीको सोचको ढकालले स्वागत गरे । स्वर्ण जयन्तीलाई अवसर बनाएर दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउन सरकारी तथा निजी क्षेत्रका उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा पनि उनले जोड दिए ।

लगानीकर्तालाई नीतिगत र नियमनकारी स्पष्टतासहित विश्वास दिलाउन द्विपक्षीय लगानी सम्झौता (बीआईए) तथा दोहोरो कर मुक्ति सम्झौताजस्ता कानुनी आधारलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता ढकालले औँल्याए । ढकालले फ्लाई दुबईले युएईबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालनका लागि पहल गरिदिन अनुरोध गरे ।

भैरहवामा सिधा उडान सुरु भएमा युएईलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग प्रत्यक्ष जोड्ने महत्त्वपूर्ण प्रवेशद्वार बन्ने उनको धारणा थियो । सन् २०२७ को स्वर्ण जयन्तीले नेपाल र युएईबीच साझा समृद्धि र बलियो आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.