
जनकपुरधाम । जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटी चालक युवकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो करिब साढे ४ बजे जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा टिपरले स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका २० वर्षीय नवीन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार पिडारीचोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटीलाई सोही दिशातर्फ गइरहेको मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनापछि प्रहरीले स्कुटी, टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएको छ। चालक महोत्तरीको भंगहा नगरपालिका–७ सितापुरका २२ वर्षीय सचिनकुमार सिंह हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

























