
काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले व्यक्तिगत कीर्तिमानभन्दा टिमको जितलाई प्राथमिकता दिने बताएका छन् ।
पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेपछि प्रतिक्रिया दिँदै लामिछानेले प्रतियोगितामा टिमका लागि महत्त्वपूर्ण दुई अङ्क जोड्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
पोखराविरुद्धको खेलमा ह्याट्रिकसहित ६ विकेट लिएका उनले व्यक्तिगत उपलब्धिभन्दा टिमको जित ठूलो हुने उल्लेख गरे । आफूले ह्याट्रिक गरेको कुरा पनि सुरुमा थाहा नपाएको र टिमका साथीहरूले जानकारी गराएपछि मात्रै थाहा भएको उनले बताए ।
बलिङ गर्दा कति विकेट लिइयो भन्नेभन्दा पनि खेलको कुन परिस्थितिमा बलिङ गरियो भन्ने कुरा महत्त्वपूर्ण हुने लामिछानेको भनाइ थियो । अर्को इन्डबाट अन्य बलरले सिर्जना गरेको दबाबका कारण आफूलाई बलिङ गर्न सहज भएको उनले बताए ।
टिमका अन्य खेलाडीको योगदानका कारण आफ्नो प्रदर्शन प्रभावकारी बनेको उल्लेख गर्दै लामिछानेले पोखराविरुद्धको खेललाई उत्कृष्ट टिम प्रदर्शनको उदाहरणका रूपमा व्याख्या गरे ।

























