
भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका स्थानीयवासी हराउँदै गएको परम्परागत कपास (कोगटी) खेतीको संरक्षणसँगै आयआर्जनमा जुटेका छन् । परम्परागत खेतीलाई व्यावसायिक रूप दिँदै स्थानीय उत्पादनबाट आर्थिक लाभ लिन किसान कपास खेतीमा सक्रिय भएका हुन् ।
अरुण गाउँपालिका-६ का वडाध्यक्ष गणेश राईका अनुसार जरायोटारको सिमटार, जोगीटार, वैरेनी, बास्ताङ, बसेरी र चोम्ताङ क्षेत्रमा कपास खेती बढी हुने गरेको छ । ती क्षेत्रमा २५ देखि ३० घरधुरीले व्यावसायिक रूपमा कपास खेती गर्दै आएका छन् । वडाले परम्परागत कपास खेती र त्यसबाट कपडा बनाउने सीपको संरक्षणमा जोड दिएको उनले बताए ।
कपासबाट तयार गरिएको हातले बुनेको कपडाले बजारमा राम्रो मूल्य पाउन थालेपछि किसान यस खेतीप्रति आकर्षित भएका छन् । अरुण गाउँपालिकाका किसान देवकुमार राईका अनुसार कपासबाट तयार गरिएको एक थान दौरा–सुरुवालको कपडा २५ हजारदेखि ३५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । कपासबाट बनेको दौरा–सुरुवालको माग बढी रहेको उनले बताए ।
यस खेतीबाट वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको राईले जानकारी दिए । ‘कपास खेती हाम्रो आम्दानीको स्रोत बनेको छ,’ उनले भने, ‘लोप हुँदै गएको कपास खेतीको संरक्षणसँगै आयआर्जन बढाउने उद्देश्यले हामी यसको खेतीमा जुटेका छौँ ।’
कपासबाट खैरो र सेतो गरी दुई प्रकारका धागो उत्पादन गरिन्छ । ती धागोलाई परम्परागत तानमा बुनेर दौरा–सुरुवाल, कोट, टोपी, झोला र रुमाललगायतका सामग्री तयार गरिन्छ । स्थानीयस्तरमा उत्पादन हुने कपासका कपडाको बजारमा राम्रो माग रहेको कृषक दर्जकुमार राईले बताए । उनका अनुसार किसानले यस क्षेत्रमा समूह गठन गरेर सामूहिक रूपमा कपास खेती गर्दै आएका छन् ।
कपास खेतीको संरक्षण तथा विस्तारका लागि गाउँपालिकाले किसानलाई उन्नत जातका बीउ, खेतीका लागि आवश्यक औजार तथा उपकरण उपलब्ध गराउँदै आएको जनाएको छ । कपासबाट उत्पादित धागो प्रयोग गरी हातले कपडा तयार गर्ने सीप विकासका लागि तालिम सञ्चालन गर्नुका साथै किसानलाई आवश्यक सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए ।
परम्परागत कपास खेतीको संरक्षण, उत्पादन वृद्धि र कपडा निर्माणसम्बन्धी सीप विकासमार्फत स्थानीय किसानको आयआर्जन बढाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।



















