
काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र महाधिवेशनलाई लिएर दुईवटा शक्ति केन्द्र निर्माण भइरहेका बेला नेता डा. शेखर कोइरालाले भने पार्टी एकताको छुट्टै अभियान अघि बढाउने तयारी गरेका छन् ।
संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा समूहका आ–आफ्नै महाधिवेशन प्रक्रियाबाट दूरी बनाएका कोइरालाले अब दुवै पक्षलाई एउटै पार्टीमा फर्काउने उद्देश्यसहित देशव्यापी अभियान सञ्चालन गर्ने भएका हुन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ ।
उक्त प्रक्रियामा असन्तुष्टि जनाउँदै पूर्वसभापति देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ । पार्टीभित्र दुईवटा नेतृत्व र अलग–अलग राजनीतिक अभ्यास सुरु भएपछि कांग्रेस विभाजनको जोखिममा पुगेको विश्लेषण भइरहेका बेला कोइराला भने दुवै पक्षभन्दा अलग उभिएका छन् ।
१४औं महाधिवेशनमा देउवासँग सभापति पदमा प्रतिस्पर्धा गरेका कोइरालाले यसपटक कुनै पनि पक्षको महाधिवेशन प्रक्रियामा सहभागी नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनीनिकट नेताहरूका अनुसार कोइरालाको प्राथमिकता कुनै एउटा समूहलाई बलियो बनाउनु नभई विभाजित कांग्रेसलाई पुनः एक ठाउँमा ल्याउनु हो ।
कोइराला निकट नेता सञ्जयकुमार गौतमका अनुसार पार्टी एकताको प्रयासलाई अब देशव्यापी अभियानका रूपमा अघि बढाउने तयारी भइरहेको छ । त्यसका लागि संगठन निर्माण गर्ने वा विभिन्न तहका नेता तथा कार्यकर्ताबीच संवाद र बहस सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
‘कांग्रेस आफैं विभाजित भएर अलग–अलग कित्तामा उभिँदा आफ्नो वैचारिकता, सिद्धान्त, निष्ठा, आचरण, आदर्श र इतिहास गुमाउनेबाहेक केही हुँदैन,’ गौतमले भने, ‘हाम्रो प्रयास समग्र कांग्रेस निर्माणमै केन्द्रित छ ।’
कोइराला सुरुदेखि नै नियमित महाधिवेशनमार्फत नेतृत्व चयन हुनुपर्ने पक्षमा थिए । विशेष महाधिवेशनले पार्टीभित्र विवाद चर्काएर विभाजनको अवस्था निम्त्याएको उनको बुझाइ छ । नियमित महाधिवेशनको बाटोबाट सहमति खोज्नुपर्ने अडानमा रहेका कोइरालाले दुवै पक्षबीच संवादमार्फत निकास खोज्ने प्रयाससमेत गरेका थिए ।
गौतमका अनुसार अहिले कांग्रेसका दुवै पक्षका नेताहरूलाई एकता अधिवेशनको विकल्प नरहेको सन्देश दिइँदै आएको छ । एकअर्कालाई आरोप लगाउने र कमजोर बनाउने प्रतिस्पर्धाले पार्टीलाई थप क्षति पुर्याउने उनको भनाइ छ ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पनि पार्टी एकताको अभियानलाई देशव्यापी बनाउने विषयमा छलफल भइरहेको पुष्टि गरे । तर, अभियानको औपचारिक सुरुवात, स्वरूप र कार्ययोजनाबारे निर्णय भइसकेको छैन ।
तिहार मनाउन विराटनगर पुगेका कोइराला छठपछि काठमाडौं फर्किएलगत्तै आफ्ना समूहका नेताहरूसँग छलफल गर्ने तयारीमा छन् । त्यसपछि अभियानको स्वरूपबारे टुंगो लाग्ने बताइएको छ ।
कोइरालालाई बद्री पाण्डे, बलबहादुर केसी, सञ्जयकुमार गौतम र सरिता प्रसाईंसहितका नेताहरूको साथ छ । यद्यपि, उनीसँग निकट रहेका केही नेता संस्थापन पक्षको महाधिवेशनमा सहभागी भएका छन् भने केही देउवा समूहमा खुलेका छन् । यस्तो अवस्थामा कोइरालाको एकता अभियानले कांग्रेसभित्र कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।



















