
काठमाडौं । सूर्यदेवप्रति आस्था प्रकट गर्ने छठ पर्वअन्तर्गत आज (शनिबार) दोस्रो दिन खरना विधि मनाइँदैछ । चार दिनसम्म विभिन्न विधि र नियम पालना गर्दै मनाइने छठमा खरनालाई व्रतालुहरूको कठिन उपवास यात्राको सुरुआतका रूपमा लिइन्छ ।
खरनाका अवसरमा व्रतालुहरू बिहानदेखि उपवास बस्छन् । दिनभर निराहार बसेका उनीहरूले साँझ स्नान गरी शुद्धतापूर्वक पूजा गर्छन् । यस दिन नयाँ माटोको चुलोमा सख्खरको खीर र रोटी पकाएर छठी मातालाई अर्पण गर्ने चलन छ । पूजापछि प्रसाद ग्रहण गरी परिवारका सदस्य तथा आफन्तलाई समेत वितरण गरिन्छ ।
खरनाको प्रसाद ग्रहण गरेसँगै व्रतालुहरूको ३६ घण्टे निर्जला उपवास सुरु हुन्छ । यस अवधिमा पानीसमेत नखाई व्रत बस्ने परम्परा छ । आस्था, अनुशासन र कठोर नियमसँग जोडिएको छठमा व्रतालुहरूले पूर्ण शुद्धता र निष्ठाका साथ विधि पूरा गर्ने गर्छन् ।
छठको मुख्य आकर्षण मानिने अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधि भोलि अर्थात् आइतबार हुनेछ । यसका लागि तराई–मधेशका साथै काठमाडौं उपत्यका र देशका अन्य स्थानमा रहेका नदी, पोखरी तथा जलाशयका घाटहरू सजाउने र पूजाको तयारी गर्ने क्रम जारी छ ।
पर्वको अन्तिम दिन अर्थात् चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ व्रत सम्पन्न हुनेछ । त्यसपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी उपवास तोड्नेछन् ।
प्रकृति र सूर्यको आराधनासँग जोडिएको छठ पर्वमा सूर्यदेव तथा छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि र सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक मान्यता छ ।



















