
विराटनगर । विश्व मधुमेह दिवसको अवसर पारेर मोरङको बूढीगंगा गाउँपालिकास्थित टंकीसिनवारीमा शनिबार स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
लायन्स क्लब इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ सी, एमडी ३२५ नेपालको लायन्स क्लबहरूको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा १२० जनाको मधुमेह परीक्षण गर्नुका साथै ५० जनालाई हट वाटर ब्याग (तातोपानीको थैली) वितरण गरिएको छ ।
लायन्स क्लब अफ विराटनगर एक्टिभका अध्यक्ष अनिल बरालका अनुसार शिविरमा मोटोपना, मधुमेह र उच्च रक्तचापसम्बन्धी सचेतना, स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श प्रदान गरिएको थियो । सर्वसाधारणलाई नसर्ने रोगको जोखिम, त्यसबाट बच्ने उपाय र स्वस्थ जीवनशैली अपनाउनुपर्ने विषयमा जानकारीसमेत दिइएको बरालले बताए ।

लायन्स डाक्टर्स अन डोर्स मोबाइल हेल्थ क्लिनिक परियोजनाअन्तर्गत आरोग्य –मुभ फर हेल्थ अभियानसँग जोडेर कार्यक्रम आयोजना गरिएको हो । स्वास्थ्य सेवाको पहुँच समुदायस्तरसम्म पुर्याउने र नसर्ने रोगको समयमै पहिचान तथा रोकथाममा सहयोग गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
लायन्स क्लब अफ विराटनगर एक्टिभ, मिडटाउन, इनोभेटिभ, गोग्राहा, धरान घोपा युनाइटेड, कोशी राइजिङ लिडर तथा लियो क्लब अफ धरान घोपा र जनकी मेडिकल कलेजको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमको संयोजन लायन सन्तोष सिंहले गरेका थिए ।
सन् २०२६–२०२७ को लायन्स वर्षअन्तर्गत आयोजित कार्यक्रमले समुदायमा मधुमेह, मोटोपना र उच्च रक्तचापबारे जनचेतना फैलाउनुका साथै प्रारम्भिक स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राखेको छ ।


























