
भोजपुर । बाँदरको समस्याका कारण मकै, कोदोलगायत परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि भोजपुरका किसान अदुवा खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँदरले खेतबारीमा लगाएको बाली नष्ट गर्न थालेपछि किसानले अदुवालाई वैकल्पिक आयआर्जनको माध्यम बनाउन थालेका हुन् ।
भोजपुर नगरपालिका–६ की किसान गीता खड्काले बाँदरको समस्या बढ्दै गएपछि अदुवा खेती सुरु गरेको बताइन् । जमिनमुनि गाँनो हुने भएकाले अदुवा बाँदरबाट सुरक्षित रहने उनको भनाइ छ । व्यावसायिक रूपमा खेती गर्न सके परम्परागत खाद्यबालीको तुलनामा राम्रो आम्दानी लिन सकिने उनले बताइन् ।
बाँदरबाट खाद्यबाली जोगाउन कठिन हुने अवस्थामा अदुवा खेती तुलनात्मक रूपमा सहज भएकाले आफू यसतर्फ आकर्षित भएको खड्काले बताइन् । बाँदरको हैरानीले खेतीपातीमा समस्या भोगिरहेका किसानका लागि अदुवा खेती विकल्प बन्न सक्ने उनको भनाइ छ ।
अर्की किसान सावित्रा पोखरेलले करिब डेढ रोपनी क्षेत्रफलमा अदुवा खेती गरिरहेकी छन् । खेतीको क्षेत्रफल थप विस्तार गर्ने उनको योजना छ । बाँदरको समस्याका कारण अन्य खाद्यबाली लगाउन कठिन भएपछि अदुवालाई प्राथमिकता दिएको पोखरेल बताउँछिन् । यसबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखेपछि आफू उत्पादनमा लागेको उनले बताइन् ।
पोखरेलका अनुसार अदुवा स्थानीय बजारमा प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । अदुवालाई सुकाएर धुलो बनाई पनि बिक्री गर्न सकिने भएकाले बजार व्यवस्थापनमा खासै समस्या नरहेको उनको भनाइ छ । स्थानीय बजारमा राम्रो मूल्य पाइनु र प्रशोधन गरेर बिक्री गर्न सकिने भएकाले उत्पादन खेर जाने सम्भावना पनि कम रहेको उनले बताइन् ।
ग्रामीण क्षेत्रमा बाँदरको बढ्दो समस्या कृषि उत्पादनका लागि चुनौती बन्दै गएको छ । खेतबारीमा लगाएको धान, मकै र कोदोलगायतका बाली नष्ट गर्दा किसानले खेतीपातीमा कठिनाइ भोगिरहेका छन् । स्थानीय बजारमा अदुवाको मूल्य राम्रो रहेकाले यसको व्यावसायिक खेती विस्तार गर्न सके किसानको आयआर्जन बढाउन सकिने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ ।



















