तराईको आकाश धुम्मियो, वायु प्रदूषण अत्यधिक

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार ०७:४८

काठमाडौं । पश्चिममा कैलालीदेखि पूर्वमा झापासम्म तराईका जिल्लामा वायु प्रदूषणको अवस्था अत्यन्त खराब बनेको छ । मौसमविद् उज्वल उपाध्यायका अनुसार शनिबार बिहानदेखि नै तराईको आकाश धुम्मिएको छ भने काठमाडौंलगायत पहाडी क्षेत्रमा पनि वायुको गुणस्तर अस्वस्थकर छ ।

आइतबार बिहानको अवस्थाबारे जानकारी दिँदै उपाध्यायले पाकिस्तान र पश्चिम भारतका मरुभूमिबाट उडेको धुलो तथा धान काटेपछि खेतमा पराल बाल्दा निस्किएको धुवाँ पश्चिमी वायुसँगै नेपाल भित्रिएकाले प्रदूषण बढेको बताएका छन् ।

उनका अनुसार यस्तो हावामा कार्बन डाइअक्साइड, नाइट्रोजन अक्साइड तथा अतिसाना धुलाका कणलगायत प्रदूषक हुन्छन्, जसले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छन् । भूउपग्रहका तस्बिरमा नेपालसँग सीमा जोडिएका भारतीय क्षेत्रमा रहेका खेतमा आगो बलेको देखिएको र त्यसले पराल बालिएको संकेत गर्ने उनले बताएका छन् । नेपालका तराई क्षेत्रमा पनि पराल जलाउने क्रम सुरु भए प्रदूषण थप बढ्न सक्ने उनको भनाइ छ ।

तुलनात्मक रूपमा काठमाडौंलगायत पहाडी क्षेत्रमा प्रदूषणको मात्रा तराईमा जति नबढे पनि वायुको गुणस्तर अस्वस्थकर रहेको उपाध्यायले बताएका छन् ।

उनका अनुसार आइतबार पश्चिमी चितवन र नवलपरासीबाहेक तराईका अन्य क्षेत्रमा वर्षाको सम्भावना छैन । पहाडी क्षेत्रमा भने वर्षा हुन सक्नेछ । यस्तो वर्षाले केही हदसम्म वायुको गुणस्तर सुधार गर्न मद्दत गर्ने उनले बताएका छन् ।

छठ पर्वका कारण तराई क्षेत्रमा वर्षा नहुने सम्भावनाले पनि राहत मिल्ने उपाध्यायको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.