
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित ३.३९९ किलोमिटर लामो महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् ।
‘ब्रेक थ्रु’ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।
‘विशेष गरी विकट भौगोलिक अवस्था, जटिल भूबनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्त्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवम् अनुकरणीय रहेको छ,’ उनले भने ।
राष्ट्रिय गौरवको आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ र पुलसहित देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना अहोरात्र खटिएको राष्ट्रपति पौडेलले बताए । काठमाडौँ उपत्यकालाई तराई–मधेशसँग प्रत्यक्ष जोड्ने करिब ७१ किलोमिटर लामो आधुनिक प्रविधिमा आधारित द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने उनले विश्वास व्यक्त गरे ।
‘यो आयोजना सञ्चालनमा आएपछि यात्रा समय तथा दूरीमा उल्लेखनीय कटौती हुनुका साथै इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा पनि बचत हुनेछ’ उनले भने, ‘राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा भूमिका खेल्ने यो आयोजना समयमै सम्पन्न गर्न नेपाल सरकार तथा नेपाली सेना दृढ रहेको पाएको छु ।’
आयोजनाको महत्त्व भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले यसले राजधानी काठमाडौँ र तराई–मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
‘पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा यस आयोजनाको योगदान दूरगामी र महत्त्वपूर्ण रहने अपेक्षा गरेको छु,’ उनले भने, ‘आयोजना निर्माणका लागि कुनै कसर बाँकी नराखी प्रभावकारी समन्वय तथा आ–आफ्नो जिम्मेवारी पूर्ण प्रतिबद्धताका साथ निर्वाह गर्दै नेपाली सेनालाई सबैको सहयोग रहने विश्वास गरेको छु ।’
कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, चीनका राजदूत चाङ माओमिङ र कोरियाका राजदूत पार्क जे क्यूङ तथा प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए ।



















