
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीको अवस्था कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ ।
महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ । लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बदली रहेको छ । तराईका केही स्थानमा तुवाँलो देखिएको छ भने अन्य भू–भागको मौसम मुख्यतः सफा रहेको छ ।
दिउँसो कोशीसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।
राति पनि कोशी, मधेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा समेत बादल लाग्ने सम्भावना छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतः सफा रहने पूर्वानुमान छ ।
त्यस्तै, बिहीबार दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । अन्य स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

























