
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे । भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो ।
प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए । राजदूत दलेलाले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए ।
उनले भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई थप उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच तीव्र रूपमा गृहकार्य भइरहेको बताएका थिए ।



















