बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार १४:३६

धरान । बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन्। बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि लामो समयदेखि फरार रहेका लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नियन्त्रणमा लिएको हो। उनको पक्राउबारे गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

गृहमन्त्री गुरुङले एक वर्षअघि धरानमा सञ्चालित ‘सेभ घोपा अभियान’का क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका बचतकर्ताले सुनाएको पीडा आफूलाई निरन्तर स्मरण भइरहेको बताएका छन्। उनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि पूर्वका नागरिकले भोग्दै आएको समस्याको समाधान र न्यायका लागि खोजी कार्यलाई तीव्रता दिइएको उल्लेख गरेका छन्।

गुरुङका अनुसार ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको बिगो हिनामिना प्रकरणका मुख्य योजनाकारलाई कानुनी दायरामा ल्याउन सफल भएको दाबी गरिएको छ। उनले यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी गरी कारबाही गर्ने प्रक्रिया पनि तीव्र बनाइने बताएका छन्।

बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले धरानसहित देशभरका ४ हजार ७७२ जनाभन्दा बढी बचतकर्ताको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।

रकम हिनामिना प्रकरण सार्वजनिक भएपछि अध्यक्ष लामिछाने फरार रहँदै आएका थिए। यसै प्रकरणमा सहकारीका मुख्य सञ्चालक मानबहादुर विश्वकर्मा र गंगा कालिकोटेलगायतका व्यक्तिहरू भने अझै फरार रहेको बताइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.