बराह सहकारीः १७ हजारभन्दा बढी बचतकर्ता प्रभावित

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार १६:३९

सुनसरी । बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी गरेको आरोपमा संस्थाका संस्थापक शिवकुमार विश्वकर्मा (लामिछाने) सहित दुई जना पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष टोलीले उनीहरूलाई बुधबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका संस्थापक विश्वकर्मा र संस्थाको ऋण उपसमिति सदस्य तथा ग्राहक सेवा कर्मचारी अस्मिता भण्डारी छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सहकारीका १७ हजार १० जना बचतकर्ता पीडित रहेको मुद्दामा शङ्कर थापासहित चार हजार २४३ जनाले जाहेरी दिएका छन् । नेपाल सरकार वादी रहेको सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कुल बिगो १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ कायम गरिएको छ ।

धरानमा मुख्य कार्यालय रहेको बराह सहकारीसँग सम्बन्धित नेपालभर ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना गरी विभिन्न मितिमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन तथा ठगी गरेको आरोप छ । उक्त कसुरमा संलग्न भई फरार रहेका प्रतिवादीको खोजतलासका क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.