
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी भ्रमणको कार्यतालिका र सहभागी टोलीबारे जानकारी गराएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाह मङ्सिर ६ र ७ गते भारत भ्रमणमा रहनेछन् । उनी आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन् । भ्रमण सकेर सोमबार साँझ ६:३५ बजे सोही वायुसेवाको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्रीको भ्रमण टोली ३४ सदस्यीय हुनेछ। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार तथा विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य पनि टोलीमा रहनेछन् ।
त्यस्तै, निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भारत जानेछन् । भ्रमणको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि आफ्नै खर्चमा भारत जाने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मङ्सिर ७ गते भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री मोदीले शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक मध्याह्नभोजमा पनि उनी सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, आइतबार भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ ।
भ्रमणकै क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन् । नेपालमा भारतीय लगानी आकर्षित गर्ने, व्यवसायीका चासो र सरोकार सुन्ने तथा लगानी विस्तारका लागि सरकारले अघि सारेका नीतिगत दृष्टिकोण र प्रयासबारे जानकारी गराउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
दुई देशका प्रधानमन्त्रीबीचको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी पनि छ । प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि मङ्सिर ७ गते अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनालले पत्रकार सम्मेलन गरी भ्रमणका विषयवस्तु र उपलब्धिबारे जानकारी गराउने कार्यक्रम छ ।

























